दुग्ध किसानलाई तत्काल बाँकी भुक्तानी दिन अर्थमन्त्रीको निर्देशन

नेपालभ्युज

दुग्ध किसानलाई तत्काल बाँकी भुक्तानी दिन अर्थमन्त्रीको निर्देशन
फाइल फोटो

काठमाडौं । अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले शुक्रबार राजस्व सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

उक्त निर्देशन दिनुअघि अर्थमन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा गोविन्प्रसाद शर्मा र पशुपक्षी विकास सचिव डा रेवतीरमण पौडेलसँग छलफल गरेका थिए ।

भुक्तानी नपाएको भन्दै केही महिनायता दुग्ध किसान आन्दोलनरत छन् । किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडीसी)ले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो ।

“किसानले दूधको भुक्तानी नपाएको अवस्थामा राज्य किसानका पीडा हेरेर बस्न सक्दैन । विगतमा जे कारणले रोकिएको भए पनि आजै वा आइतबारसम्म किसानको बक्यौता भुक्तानी हुन्छ”, पुनले निर्देशन दिँदै भने ।

निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी पनि अर्थ मन्त्रालयले नरोक्ने उनले स्पष्ट पारे ।

अर्थमन्त्री पुनका अनुसार कृषि मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिइन लागिएको हो । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved