काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि पपुवा न्यूगिनी (पीएनजी)ले जितेकाे छ ।
बुधबार भएकाे फाइनल खेलमा नेपाललाई ८६ रनले पराजित गर्दै पीएनजीले उपाधि जितेको हो ।
१७२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको नेपाल १६.३ ओभरमा ८५ रनमा अलआउट भएको हो ।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाए। आरिफ शेख १५, रोहित पौडेल १२, लोकेश बम ६, गुल्सन झा ६, कुशल भूर्तेल ५, विनोद भण्डारी ४, करण केसी ३, विवेक यादव १ रनमा आउट भए। प्रतिश जिसी डकआउट भए।
पीएनजीका लागि काबुआ मोरिया, सेमो कामिया, च्याड सोपर र सेसे बाउले २–२ तथा एलि नाओले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको पीएनजीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १७१ रन बनाएको थियाे । पीएनजीका लागि टोनी उराले ३७ बलमा ६१ रन बनाए । सो क्रममा उनले ५ चौका र ४ छक्का प्रहार गरे।
५.२ ओभरमा ४ विकेट लिएर कसिलो बलिङ प्रदर्शन गरेको नेपाललाई त्यसपछि विकेट लिन भने त्यति सहज भएन।
नेपालका लागि कुशल भूर्तेल र आकाश चन्दले ३–३ विकेट लिए। करण केसी र गुल्शन झाले भने १–१ विकेट लिए।
विश्वकप टी–२० सिरिजको तयारीस्वरुप नेपाल हङकङ भ्रमणमा गएको हो। हङकङसँग घरेलु टोलीले फ्रेण्डसीप कप खेलेको थियो। त्यसपश्चात हङकङ र पीएनजीसँग त्रिदेशीय टी–२० सिरिज खेलेको थियो।
Facebook Comment
Comment