काठमाडौँ। मण्डला थिएटरमा चैत २ गते (शुक्रवार) देखि नाटक ‘आकाशको बाटो’ मञ्चन हुने भएको छ। प्रदीपकुमार चौधरीको लेखन तथा निर्देशनमा तयार भएको नाटक यही चैत १८ गतेसम्म मञ्चन हुनेछ।
विविध कारणले बिदेसिन बाध्य युवाको कथावस्तुमा नाटक तयार पारिएको नाटकमा सोहित रावल, सुशन बस्नेत, समस्ती राई, प्रमीला राई, मेलिना चाम्लिङ राई र आकृति केसीको प्रमुख भूमिका रहेको छ। नेपाली समाजमा व्याप्त बेरोजगारी र आर्थिक अभावका कारणले वा कुनै न कुनै बहानामा नेपाली युवा आकाशको बाटो हुँदै विदेश जाने चलन प्रथाकै रूपमा स्थापित हुँदै गइरहेका कथावस्तुमा नाटक देख्न सकिने निर्देशक चौधरीले बताए।
चौधरीका अनुसार बिदेसिनुपर्ने बाध्यताका कारण समाजमा निम्तिएको प्रभाव र परिवर्तनको दस्ताबेजका रूपमा यो नाटक तयार पारिएको हो। मण्डला थिएटरको प्रस्तुति रहेको यो नाटक सोमबार बाहेक हरेक साँझ ४ बजे र शनिवार दिउसो १२:३० बजे अतिरिक्त शो समेत मञ्चन हुनेछ।
Facebook Comment
Comment