काठमाडौं । सहकारी संस्थाबाट लिएको ऋण विभिन्न बहानाबाजी बनाउँदै नतिर्नेहरूको सम्पत्ति रोक्का गरिने भएको छ ।
बागमती प्रदेशको संस्कृत, पर्यटन तथा सहकारी मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै ऋणीहरूले तोकिएको समयभित्र ऋणको साँवा तथा व्याज चुक्ता नगर्नेको सम्पत्ति रोक्का गरिने जनाएको हो ।
ऋणीहरूले ऋण नतिर्दा सदस्यहरूको बचत फिर्ता गर्न नसकेको सहकारी संस्थाहरूको गुनासो छ । सम्झौता वा सर्त बमोजिम लिएको ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान नगरे सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने मन्त्रालयले जनाएको छ ।
‘सहकारी संस्थाबाट सदस्यहरूको बचत रकम नै कर्जाको रूपमा प्रवाह हुने र ऋणी सदस्यहरूले समयमा नै आफूले भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज विभिन्न बहानाबाजी एवम् केही पक्षको सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरूको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको भन्ने गुनासो प्राप्त भएको छ,’ सूचनामा भनिएको छ ।

Facebook Comment
Comment