मधेसी मोर्चा बनाएर प्रधानमन्त्रीमै दाबी गर्नुपर्ने सुझाव आएपछि उपेन्द्र यादव समस्यामा

नेपालभ्युज

मधेसी मोर्चा बनाएर प्रधानमन्त्रीमै दाबी गर्नुपर्ने सुझाव आएपछि उपेन्द्र यादव समस्यामा

काठमाडौं । नयाँ सरकारमा सहभागी हुने विषयमा जनता समाजवादी पार्टी (जसपा) मा समस्या देखिएको छ । जसपाले मधेसमा मुख्यमन्त्री सुनिश्चित नभएसम्म सरकारमा नजाने अडान राखेको छ । अर्कोतिर मधेसकेन्द्रित दल मिलेर मोर्चा बनाउनुपर्ने आवाज पनि जसपामा उठेको छ ।

नयाँ सत्ता गठबन्धनमा जसपाले २ मन्त्रालय पाउने सहमति भएको छ । तर, कुन मन्त्रालय भन्ने अझै टुङ्गो लागेको छैन । मन्त्रालयको सङ्ख्या टुङ्ग्याएर बुधबार बिहान पार्टीका नेतासँग छलफलमा बसेका अध्यक्ष उपेन्द्र यादव कुनै निर्णय नगरी उठेका छन् ।

काठमाडौंमा उपलब्ध नेताको बैठकमा अधिकांशले मधेसको मुख्यमन्त्री के हुन्छ ? भनेर प्रश्न राखेका थिए । त्यसबारे गठबन्धनमा अहिले नै सहमति बन्नुपर्ने उनीहरूको माग छ । अध्यक्ष यादवले त्यसबारे अहिलेसम्म कुनै छलफल नभएको बैठकमा जानकारी गराए ।

केही नेताहरूले भने कांग्रेसले पनि अर्को गठबन्धन बनाउने प्रयास गरिरहेको भन्दै हतार नगर्न सुझाव दिए । उनीहरूले मधेसकेन्द्रित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) मिलेर मोर्चा बनाउने र प्रधानमन्त्रीमै दाबी गर्नुपर्ने समेत बताए ।

अहिले एकातिर वाम गठबन्धनको चर्चा भइरहेको भन्दै केही नेताहरूले मधेसी मोर्चा बनाउन सके प्रधानमन्त्रीमै दाबी गर्न सकिने तर्क गरेका थिए । अध्यक्ष यादवलाई एकपटक अन्य मधेसकेन्द्रित दलसँग छलफल अघि बढाउन धेरैले सुझाव दिएको सहभागी एक नेताले जानकारी दिए ।

अनेक खालका सुझाव आएपछि अध्यक्ष यादवले पछि फेरि छलफल गर्ने भन्दै बैठक समाप्त गरे । एक नेताका अनुसार मधेसी मोर्चा बनाएर प्रधानमन्त्रीमै दाबी गर्नुपर्ने सुझावलाई अध्यक्ष यादवले गम्भीररूपमा नलिए पनि मधेस सरकारको विषय टुङ्गो लगाउनुपर्नेमा भने सहमति जनाएका थिए ।

जसपामा सरकारमा जाने नेताको विषयमा पनि ठूलै लफडा हुने अनुमान गरिएको छ । अध्यक्ष यादव उपप्रधानसहित आफैँ सरकारमा जान चाहन्छन् । अर्को एउटा मन्त्रालयका लागि थुप्रै नेता आकांक्षी छन् । त्यसैले औपचारिक बैठकबाट निर्णय गर्न सम्भव नहुने अध्यक्ष यादवले ठानेका छन् ।

बुधबार नै सबै मन्त्रीको शपथ गराउने भन्दै प्रधानमन्त्रीले नाम मागेका छन् । तर, जसपाले भने दिन सकेको छैन । अध्यक्ष यादवले निर्णय नै नगराई प्रधानमन्त्रीलाई नाम दिन्छन् कि केही दिन पर्खेर हेर्छन् भन्ने अझै स्पष्ट भइसकेको छैन । तर, नयाँ सत्ता समीकरणले जसपामा विवाद चर्कने संकेत भने देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved