धरान एक्स्पोबाट कृषि उत्पादनमा टेवा

नेपालभ्युज

धरान एक्स्पोबाट कृषि उत्पादनमा टेवा

धरान । व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको धरान एक्स्पोको माध्यमबाट यहाँको कृषि उत्पादनमा टेवा पुगेको छ । यही फागुन ११ गतेदेखि सुरु भएको एक्स्पोमा हस्तकलाका सामग्री, वैज्ञानिक कृषि पद्धति तथा स्थानीय साधन स्रोतबाट उत्पादित वस्तुलाई प्राथमिकता दिइएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव महेन्द्र श्रेष्ठले विषादीयुक्त तरकारी तथा कृषिउपजको आयातलाई निरुत्साहित गर्दै विषादीरहित स्थानीय उत्पादनमा जोड दिने उद्देश्यले धरान एक्स्पो आयोजना गरिएको बताए । स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित कृषि बाली उत्पादनमा यसबाट टेवा पुगेको उनको भनाइ छ ।

महासचिव श्रेष्ठले भने, “स्थानीय उत्पादन र किसानलाई अर्गानिक उत्पादनमा जोड दिँदै कक्ष राखेर प्राविधिक सहयोग गर्दै आएका छौँ ।” स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

बराह क्षेत्रबाट आएका व्यापारी अर्जुन कुलुङ राई चार वर्षदेखि कृषि व्यवसाय गर्दै आएका छन् । उनी तीन वर्ष विदेशमा बिताएर नेपाल फर्किएका हुन् । राईले कृषि फार्म खोलेर बेसार, टमाटर, साग, बन्दागोभी र खोर्सानीको व्यवसाय गर्दै आएका छन् । उनले भने, “गत वर्षको तुलनामा यस वर्ष व्यापारमा कमी आएको छ ।”

राईले जस्तै धरान एक्स्पोमा साबुनको व्यापार गर्दै आउनुभएकी मनीता घिमिरे साबुन अत्यधिक मात्रामा बिक्री भइरहेको बताउछन् । उनले विगत ६ वर्षदेखि धरान–१५ स्थित आफ्नै घरमा साबुन उद्योग सञ्चालन गरिरहेका छन् । उनले भने, “आफ्नै गाउँघरमा पाइने वनस्पतिको प्रयोग गरेर साबुन बनाउँदै आएको छु ।”

यसैगरी फूलको प्रदर्शनी र व्यापार गर्दै आएकी युमेनहाङ राईले धरान–२० मा एभरेष्ट नर्सरी फार्म खोलेकी छन् । उनले आफूले संकलन गरेका फूललाई नर्सरीको रुपमा स्थापित गरेर हाल रु ८० हजारसम्मको विदेशी तथा स्वदेशी फूलका बिरुवा उत्पादन गरेकी छन् । “धरानमा सौखले फूल रोप्ने त धेरै छन् तर व्यवसायी बन्नेको सङ्ख्या पनि बढिरहेको छ”, उनले भनिन् । धरान एक्स्पो यही फागुन २३ गतेसम्म चल्नेछ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved