माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार

नेपालभ्युज

माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुको कार्यविभाजनका सन्दर्भमा आवश्यक तयारी पूरा नभएपछि आजका लागि निर्धारण भएको स्थायी समितिको बैठक आगामी मंगलबार हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार अपराह्न भएको पदाधिकारीको अनौपचारिक बैठकपछि स्थायी समितिको बैठक मंगलबार गर्ने निर्णय भएको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका छन् ।

“पार्टी अध्यक्षले प्रदेशका इन्चार्जलगायत नेताहरूको कार्यविभाजन आगामी अभियानलाई प्रभावकारी बनाउनेबारे प्रशिक्षण दिएका छन् । आवश्यक गृहकार्य गरेर पुनः मङ्गलबार बिहान ८ः३० बजे बैठक बस्नेछ,” प्रवक्ता सापकोटाले भने ।

हालै विधान सम्मेलन समापन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ । तराई–मधेस अभियान, उत्तर–दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताए । माओवादीले आगामी चैत १ गतेदेखि तराई–मधेसमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने, अनुचि लेनदेन (मिटरब्याज) पीडित र सहकारीका समस्या सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित छ । समसामयिक राजनीतिक विषयमा पनि सत्ता साझेदार दलसँगको छलफलका आधारमा निर्णय गरिने उनले बताए। मिटरब्याजपीडितका माग सम्बोधन गर्न सरकारले पहल थालिसकेको छ । आजै गृहमन्त्रालयले मिटरब्याजपीडितलाई वार्ताका लागि आह्वान गरेको छ भने लघुवित्तपीडितको माग सम्बोधनका लागि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई निर्देशन दिइसकेका छन् ।  रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved