काठमाडौं । न्यायपरिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्तको सिफारिस गरेको छ । आइतबार बसेको न्यायपरिषद बैठकले उनिहरुको कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै यस्तो निर्णय गरेको हो ।
यस्तै बैठकले जिल्ला न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराउने निर्णय पनि गरेको छ । स्रोतका अनुसार न्यायपरिषदको सिफारिस कार्यान्वयनका लागि प्रधानन्यायाधीशको सचिवालयमा पठाइएको छ ।
थपलियामाथि पदीय हैसियतको दुरुपयोग गरेको, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको इजलासमा मुद्दाहरु मिलाउने र मोलाहिजाको काम गरेको लगायतका आरोपसहित न्यायपरिषदमा उजुरी परेको थियो ।
यसअघि नेपाल बार एसोसिएसनले संघीय संसदको महाभियोग सिफारिस समितिलाई बुझाएको ज्ञापनपत्रमा समेत थपलियाको विषयमा प्रश्न उठाइएको थियो ।
ज्ञापनपत्रमा भनिएको छ, ‘सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा र उच्च अदालत जुम्लाका न्यायाधीश नवराज थपलियाबीच प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट मुद्दामा फैसला गराउने सम्बन्धमा पटक–पटक भए गरिएका सम्वाद मार्फत अनियमितता गरिएको भन्दै…..।, ‘सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री तीलप्रसाद श्रेष्ठद्वारा छानबिन भइरहेकोले ती सम्पूर्ण कल डिटेल र सम्वादमा संलग्न माननीय न्यायाधीशहरुलाई बुझी प्रमाणमा लगाइ पाउन अनुरोध गरिन्छ ।’
यस्तै जिल्ला न्यायाधीश निरौलामाथि मुद्दाको तथ्य र प्रमाण एकातिर हुँदाहुँदै बदनीयतपूर्वक गलत फैसला गरी अपहरण मुद्दाका आरोपितलाई छुटाएको आरोप लागेको थियो ।
Facebook Comment
Comment