काठमाडौं । सत्ता नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र) ले नेताहरुको कार्य विभाजनका लागि आन्तरिक छलफल थालेको छ ।
आइतवार अपरान्ह पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा बदलिँदो परिस्थितिअनुसार पार्टीका प्रदेश इन्जार्च र विभागहरुको कार्य विभाजन गर्ने विषयमा प्रारम्भिक छलफल सुरु गरेको हो ।
विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढंगले कार्य सम्पादन हुने गरी नेताहरुको कार्य विभाजन गर्ने विषयमा छलफल गरिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेताहरुको कार्य विभाजन र पार्टीको चैत्र १ गतेबाट सुरु हुने तराई–मधेस जागरण अभियान, पूर्वपश्चिम, उत्तरदक्षिणका अभियान, प्रदेशमा आफ्नो सापेक्षतामा अभियानहरु सञ्चालनका लागि मार्ग चित्र बनाउन पनि नेताहरुलाई निर्देशन दिएका थिए ।
नेताहरुको कार्य विभाजन र पार्टीको आगामी योजना तथा कार्यक्रमको बारेमा गृहकार्य गर्न पनि पार्टीले अध्यक्ष दाहालले आफूहरुलाई दुई दिन समय दिएको र मंगलवार बिहान साढे ८ बजे बस्ने पार्टी स्थायी कमिटी बैठकमा त्यसबारे विस्तृत छलफल हुने पनि प्रवक्ता सापकोटाले जानकारी दिए ।
प्रवक्ता सापकोटाले भने, ‘यो स्थायी कमिटी बैठकको सबैभन्दा मुख्य एजेण्डा चाहीँ नयाँ परिस्थिति अनुसार, नयाँ कार्यभार अनुसार, नयाँ कार्य विभाजन । खासगरी प्रदेश इन्चार्जहरु जिम्मेवारी र अन्य विभाग सबैको जिम्मेवारीहरु निश्चित गर्ने कुरा छ । र, त्यसको लागि अहिले व्यापकरुपमा गृहकार्य पनि भएको छ । चैत्र १ देखि सुरु हुने अभियानलाई अझ प्रभावकारी बनाउनका लागि हामी जनतामा जाने धेरै कुराहरु भएका थिएन । अब चाहीँ वृहत जनपरिचालन । सभाहरु, कोणसभाहरु गरेर जनतामा नै जाने भनेर हामीले तराई मधेश जागरण अभियान अनि त्यसपछि पूर्वपश्चिम, उत्तरदक्षिणका अभियानहरु, प्रदेशमा आफ्नो सापेक्षतामा अभियानहरु भनेका छौं ।’
प्रवक्ता सापकोटाले बालकुमारी घटनाका छानविन समितिको प्रतिवेदनबारे भने आजको बैठकमा छलफल नभएको पनि बताए ।
Facebook Comment
Comment