काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरुलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताएका छन् ।
कांग्रेसबाट नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै आइतवार नेता सिटौलाले पार्टीहरुलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्न आवश्यक रहेको बताए । त्यसका लागि कांग्रेसको नेतृत्वदायी दायित्व भएको उनको भनाइ थियो ।
नेता सिटौलाले पार्टीहरुलाई राष्ट्रहितको बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा रहेको बताउँदै कांग्रेसले सबैसँग सहमती, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु भुमिका खेल्नुपर्ने धारणा राखे । उनले कांग्रेसबाट निर्वाचित राष्ट्रिय सभा सदस्यहरुले अन्य पार्टीहरुसँग पनि सहकार्य गरेर जनताको स्वार्थ अनुकुल काम गर्नुपर्ने बताउँदै सिंगो राष्ट्रलाई एकतावद्ध गरेर बलियो राष्ट्र निर्माण गर्नुपर्ने भन्दै त्यसका निम्ति पार्टीभित्र र बाहिर सबैसँग मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामीले सबैलाई मिलाएर सहमती, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु पनि छ । व्यवस्थाको माध्यमबाट जनताको अधिकारको रक्षा पनि गर्नुछ । जनतालाई आर्थिक प्रगति पनि दिनुछ । त्यसैले राष्ट्रिय सभामा भएका हाम्रा साथीहरुले अन्य पार्टीहरुसँग पनि सहमती, सहकार्य गरेर, एकता गरेर राष्ट्रको हितमा हाम्रो अथवा अर्काको स्वार्थको खातिर होइन जनताका स्वार्थका खातिर बलियो नेपाल निर्माण गर्नका लागि हामीले मिलेर काम गर्नुछ आपसमा पनि ।’
नेता सिटौलाले राज्यका सम्पूर्ण संयन्त्रहरुलाई संविधान बमोजिम जनताको हितमा प्रयोग गर्नुपर्ने बताए । उनले आफूहरुले आगामी दिनमा जनताप्रति समर्पित भावले काम गर्ने पनि आग्रह गरे ।
Facebook Comment
Comment