वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुने

नेपालभ्युज

वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुने

काठमाडौं । इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगको आइतबार बसेको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते गर्ने निर्णय गरेको हो ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुवै क्षेत्रमा उपनिर्वाचनका लागि उक्त मिति तय गरिएको नेपालभ्युजलाई जानकारी दिए ।

इलाम–२ बाट निर्वाचित सुवास नेम्वाङ र बझाङ प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि निधन भएपछि दुवै स्थान खाली छ । नेम्वाङको भदौ २६ गते हृदयघातबाट र सिंहको असार २५ गते सवारी दुर्घटनामा निधन भएको थियो ।

सरकारसँगको परामर्शको आधारमा प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने व्यवस्था छ।

उता स्थानीय तहको उपनिर्वाचन मिति भने आयोगको परामर्शमा सरकारले तोक्ने भएको छ।

यसैबीच निर्वाचन आयोगले उपनिर्वचनका लागि मिति तोकेसँगै मतदाता नामावली दर्ताको काम रोकेको छ । मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकोले हाल नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य स्थगन गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved