काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलले राजनीतिक संस्कार देखाउन आवश्यक रहेको बताएका छन् ।
शनिबार सिंहदरबारमा बसेकाे पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाबारे छानबिन आयोगले बुझाएको प्रतिवेदन अध्ययनकै क्रममा रहेकोले प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्ने बताएका हुन् ।
आयोगको प्रतिवेदनमा बालकुमारी घटनामा मन्त्रीको गल्ती भनिएपनि उनलाई कारबाही नगरिएको भन्दै संसदमा प्रतिपक्षी दलहरूले लगातार विरोध जनाउँदै आइरहेका छन्। उनीहरूले मन्त्री ज्वालाले नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।
त्यसबारे बोल्दै प्रधानमन्त्री प्रचण्डले प्रतिवेदनको अध्ययन सरकारको क्षेत्राधिकार भएको बताए ।
बैठकमा उनले आगामी मन्त्रिपरिषद बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गर्ने भएकाले प्रस्तुत विधेयकहरू पारित गराउन आफ्ना दलका सांसदहरूलाई निर्देशन दिएका छन् ।
Facebook Comment
Comment