प्रतिकूल मौसमका कारण प्रभावित हवाई उडान सामान्य

नेपालभ्युज

प्रतिकूल मौसमका कारण प्रभावित हवाई उडान सामान्य

काठमाडौं । प्रतिकूल मौसमका कारण प्रभावित भएको मुलुकको हवाई उडान अहिले सामान्य रुपमा सञ्चालन भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वर्षा रोकिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेको हो । बिहीबार अपराह्न काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै देशभर आंशिकदेखि सामान्य बदली रहेकाले हवाई उडान केही समय प्रभावित भएको थियो ।

प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ चार र अन्तर्राष्ट्रियतर्फ एक जहाज ‘डाइभर्ट’ भएका प्रवक्ता झाले बताए । उनका अनुसार भारतको मुम्बइबाट काठमाडौँ आएको इण्डिगो एयरलाइन्सको जहाज काठमाडौँ अवतरण गर्न नसकेपछि भारतको लखनऊ डाइभर्ट गरिएको थियो ।

आन्तरिकमा ‘इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) बाट मात्र उडान भएको थियो । अहिले दुवै उडान सामान्य रुपमा सञ्चालन भइरहेका प्रवक्ता झाले जानकारी दिए।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँसहित देशका विभिन्न स्थानमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेषगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ । काठमाडौँमा साँझ करिब डेढ घण्टा हल्का वर्षा भएको थियो ।

महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौँमा तीन दशमलव छ मिलिमिटर वर्षा भएको छ । पोखरामा सात दशमलव पाँच, घोराहीमा पाँच दशमलव आठ, दिपायल र डडेलधुरामा समान तीन मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved