एनसेलको सामाजिक कार्यका लागि आए उत्साहजनक प्रस्तावहरू

नेपालभ्युज

एनसेलको सामाजिक कार्यका लागि आए उत्साहजनक प्रस्तावहरू

काठमाडौं । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत ‘एटीन फर एटीन’ विकास कार्यका लागि देशका सातै प्रदेशबाट १६५ भन्दा बढी प्रस्तावहरू प्राप्त गरेको छ ।

कम्पनीले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा समुदाय स्तरमा लागु हुने गरी यो कार्यक्रम संचालन गरेको हो । हाल एनसेलले प्राप्त प्रस्ताव तथा आवेदनहरूको मुल्याङ्कन गरिरहेको जनाएको छ ।

एनसेलले माघ १७ गतेसम्मको समय दिएर ७ वटै प्रदेशका इच्छुक गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको थियो ।

एनसेलका अनुसार देश भरीबाट शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य र जीविकोपार्जन सहयोग लगायतका क्षेत्रहरूमा विकास कार्य गर्न उत्साहजनकरुपमा प्रस्तावहरू प्राप्त भएका छन् ।

लागु हुने आयोजनाले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावना लगायतका आधारहरूमा कार्यक्रमहरू छानिने कम्पनीले बताएको छ ।

तोकिएको मापदण्ड र प्रक्रिया पुर्‍याएर छानिने विकास आयोजनाका लागि कम्पनीले प्रति कार्यक्रम १० लाख रुपैयाँ प्रदान गर्नेछ । यस सामाजिक पहल अन्तर्गत कुल १८ आयोजानाहरु छानिने छन् र प्रत्येक एक प्रदेशमा दुई आयोजना लागु गरिनेछन् ।

बाँकी चार आयोजनाहरू प्राप्त प्रस्तावको महत्त्व र प्रभावका आधारमा छानिएका प्रदेशमा कार्यान्वयन गरिने छन् । दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरूप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।

विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरूका सामाजिक परियोजनाहरूमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ ।

एनसेलले सबै भन्दा ठुलो करदाता मध्ये एकका रूपमा अर्थतन्त्रमा प्रभावकारी योगदान पुर्याउदै आएको छ । आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७९/८० सम्ममा कम्पनीले कर तथा गैर करहरू गरी ३ खर्ब भन्दा बढी राजश्व सरकारलाई तिरी सकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved