राप्रपाले देशभर दबाबमूलक कार्यक्रम गर्दै

नेपालभ्युज

राप्रपाले देशभर दबाबमूलक कार्यक्रम गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज ४० बुँदे मागपत्र पेश गर्ने जनाएको छ ।

राप्रपाले संवैधानिक राजसंस्थाको पुर्नस्थापनादेखि संघीयता खारेजीलगायतका ४० बुँदे मागपत्र सरकारसमक्ष बुझाउन लागेको हो ।

ज्ञापन पत्र बुझाउनु अघि भृकुटीमण्डपबाट दबाबमूलक र्याली सुरु गरेर भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै फेरि भृकुटीमण्डप पुगेर सभा गर्ने राप्रपाले जनाएको छ ।

सभा सकिएपछि अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा दिउँसो साढे १ बजे सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले बुझाउन लागेको मागपत्रमा पूर्ण धार्मिक स्वतन्त्रसहितको हिन्दु अधिराज्य हुनुपर्ने, धर्मान्तरणमा तत्काल रोक लगाउनुपर्ने, प्रदेशको खारेजी र दुई तहको सरकार हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, कार्यकारी पदमा दुई कार्यकाल भन्दा बढी हुन नहुने लगायत विषय समेटिएका छन् ।

यस्तै बढ्दो भ्रष्टाचारको विषय, बैंक तथा वित्तीय संस्थाले गरेको ज्यादती नियन्त्रण गर्नुपर्ने लगायतका विषयलाई पनि राप्रपाले उठाएको छ ।

राजधानीसहित मुलुकभरका अन्य जिल्लाबाट पनि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने राप्रपाले जनाएको छ । सरकारले आफ्नो मागबारे सुनुवाइ नगरे आगामी चैतदेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।

२०५२ सालमा माओवादीले गरेजस्तै ४० बुँदे बुझाएर राप्रपा पनि आन्दोलनमा होमिन लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved