नेपाली बैंकिङ क्षेत्र सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुहोस् : राष्ट्र बैंक

नेपालभ्युज

नेपाली बैंकिङ क्षेत्र सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुहोस् : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली बैंकिङ क्षेत्र सुरक्षित रहेको बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै बैंकले आम सर्वसाधारणलाई ढुक्क भएर बैंकिङ कारोबार गर्न आग्रह गरेको हो ।

बैंक तथा वित्तीय क्षेत्रविरुद्ध पछिल्ला केही दिनदेखि भ्रामक समाचारहरू आइरहेको र केही व्यक्तिहरूले भ्रामक अभिव्यक्ति र दुष्प्रचार गरेको भन्दै राष्ट्र बैंकले यसप्रति आपत्ति जनाएको छ ।

‘नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी यस बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्तिरसमूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ’विज्ञप्तिमा भनिएको छ ।

‘बैंकिङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड हो । नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्‍याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न यस बैंकलाई कानुनले स्पष्ट जिम्मेवारी दिएको छ ।’

पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजी कोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू यस बैंकको निर्देशन अनुरूप नै रहेको जनाउँदै बैंकिङ क्षेत्र सक्षम र सबल रहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको राष्ट्र बैंकले जिकिर गरेको छ ।

साथै, बैंकिङ क्षेत्र जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकले अनुरोधसमेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved