कांग्रेस महासमिति बैठक आजदेखि, कहाँ–कहाँबाट आउँदैछन् २१ सय प्रतिनिधि ?

कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा हुँदैछ । १४ औँ महाधिवेशनमा नेतृत्व मात्रै चयन गरेको कांग्रेसले यसपटकको महासमितिलाई नीति अधिवेशनको रूपमा लिएको छ ।

नेपालभ्युज

कांग्रेस महासमिति बैठक आजदेखि, कहाँ–कहाँबाट आउँदैछन् २१ सय प्रतिनिधि ?

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा हुँदैछ । १४ औँ महाधिवेशनमा नेतृत्व मात्रै चयन गरेको कांग्रेसले यसपटकको महासमितिलाई नीति अधिवेशनको रूपमा लिएको छ ।

दिउँसो १ बजे महासमितिको बैठकको उद्घाटन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् ।

महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, सांगठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन् ।

महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले मूल नीतिसम्बन्धी, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नेछन् ।

पार्टी प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन महासमितिमा पेश गर्ने जानकारी प्रभार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

को–को सहभागी हुन पाउँछन् ?

महासमितिमा देशभरबाट २१०५ हाराहारी सदस्य सहभागी हुनेछन् । जसमा १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १७८०, विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ शुभेच्छुक संस्थाबाट ६९, जिल्ला सभापति ४६ गरी २ हजार बढी सहभागी हुनेछन् ।

भातृ शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षलाई आमन्त्रित सदस्यको रूपमा प्रवेश दिइएको विश्कर्माले बताए ।

गठबन्धनको गाँठो

महासमितिमा प्रस्तुत गर्नका लागि महामन्त्री गगन थापाले ल्याएको सांगठनिक प्रस्तावका विषयले कांग्रेसमा खैलाबैला मच्चाएको छ ।

थापाले चुनावी गठबन्धन र सत्ता गठबन्धनले फाइदा नगरेको भन्दै कांग्रेस आगामी चुनाव एक्लै लड्नुपर्ने प्रस्ताव ल्याएपछि संस्थापन पक्ष बिच्किएको छ ।

गत निर्वाचनमा तालमेल गरेका दलले आलोपालोमा गठबन्धन गरिरहँदा यसको विरोध गर्ने र प्रस्तावमा लेख्ने विषय अराजनीतिक भएको भन्दै विरोध भएको हो ।

त्यस्तै, १५ औं महाधिवेशनको कार्यतालिका ल्याउन गरिएको प्रस्ताव पनि विवादित बनेको छ ।

संस्थापन कार्यतालिकाको विपक्षमा छ । तर, महामन्त्री थापाले २०८२ मंसिरभित्र १५ औँ महाधिवेशन गर्ने प्रस्ताव अगाडि बढाएका छन् ।

सभापति र महामन्त्रीबीच तनाव उत्पन्न भएपछि दोस्रो तहका नेताहरू भाषा मिलाएर प्रस्ताव अगाडि बढाउने तयारीमा जुटेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved