काठमाडौं । उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरूको पार्टी यथास्थितिबाट माथि उठ्नुपर्ने बताएका छन् ।
मङ्गलबारबाट कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरू भएको माओवादी केन्द्रको विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “हामीसँग वैचारिक तथा सांस्कृतिक रूपान्तरणको कार्यभार छ । पार्टी क्रान्तिकारीकरण र पुनर्गठनको कार्यभार छ र शक्ति सुदृढीकरणको कार्यभार छ । तर, त्यसका लागि हाम्रो पार्टी यथास्थितिबाट माथि उठ्नुपर्छ,” उनले भने ।
माओवादी केन्द्र अरु राजनीतिक दलहरूभन्दा राम्रो भएको दाबी गर्दै उनले भने, “राष्ट्रिय र पार्टीभित्रको कार्यभारहरू अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा मात्रै सम्भव छ । त्यसैले उहाँका वरिपरि गोलबन्द भएर अगाडि जानुपर्छ ।”
यसैबीच उनले जुनसुकै मूल्य चुकाएर पनि शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताए । देशलाई घात नहुनेगरी सम्झौता गरेरै भएपनि शान्ति प्रक्रियाका बाँकी पूरा गर्नुपर्ने उल्लेख गर्दै उनले भने, “अब ढिला गर्नुहुँदैन । अब पर्खने धीरता छैन जनतामा ।”
Facebook Comment
Comment