कांग्रेससँगको गठबन्धन फलदायी नभएको निष्कर्षमा किन पुगे प्रधानमन्त्री ?

कांग्रेससँगको गठबन्धन फलदायी नभएको निष्कर्षमा किन पुगे प्रधानमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेससँगको गठबन्धन फलदायी नभएको निष्कर्षमा पुगेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले यो आफ्नो निष्कर्ष केन्द्रीय कमिटी बैठकमा सुनाए ।

उनको निष्कर्ष थियो, “कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले त एउटा आवश्यकता हो । तर, हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन ।

तर, सँगै उनले अर्को गठबन्धनको आधार भने तयार भइनसकेको बताएका छन् । उनले प्रयास भइरहेको भने सङ्केत गरे । मंगलबार सुरू भएको पार्टीको विधान महाधिवेशनमा पनि उनले यही आशयको कुरा राखे । अझ अगाडि बढेर उनले भने, “समाजवादी मोर्चा बनाएका छौँ । अर्कोतिर सिद्धान्त मिल्ने दलहरूबीच एकताको प्रयाससमेत भइरहेको छ ।”

उसो त उनले पछिल्लो प्रतिनिधिसभा निर्वाचनयता नै कांग्रेससँगको सहकार्यबारे विभिन्न असन्तुष्टि तथा आशङ्का व्यक्त गर्दै आइरहेका छन् । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र माओवादीले वाम-लोकतान्त्रिक गठबन्धन बनाएका थिए ।

आफूहरूले इमान्दारीपूर्वक कांग्रेस उम्मेदवारहरूलाई मत दिएको भएपनि कांग्रेसले माओवादी उम्मेदवारहरूलाई मत नदिएको प्रधानमन्त्री प्रचण्डले बताउँदै आएका छन् । यी यावत् असन्तुष्टिहरूका बीचमा नेकपा (एमाले)को प्रमुख साझेदारीमा सरकार गठन गरेका प्रधानमन्त्री प्रचण्ड अन्ततोगत्वा पुन: कांग्रेससँगै आइपुगे ।

यसपछि धरमर-धरमर चलिरहेको मुख्यत: कांग्रेस-माओवादी गठबन्धन पछिल्लो राष्ट्रियसभा निर्वाचनयता अझ खटपट भएको छ । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेकी माओवादी नेतृ चम्पादेवी कार्की कांग्रेसकै कारण हारेपछि प्रधानमन्त्री प्रचण्डले हाक्काहाक्की कांग्रेसबाट धोका भएको बताउन थालेका छन् ।

यसबारे उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै प्रत्यक्षरूपमा कांग्रेसका कारण माओवादीको उम्मेदवार हारेको बताएका थिए । त्यसबखत सभापति देउवाले पार्टीका संस्थापनइतरको कारण हारेको जवाफ दिएका थिए । तर, माओवादी भने त्यसको दोष समग्र कांग्रेसले लिनुपर्ने बुझाइमा छ ।

त्यसो त प्रधानमन्त्री प्रचण्ड स्वयम्‌ले गठबन्धन पाँचैवर्ष टिक्ने ठोकुवा गर्दै आएका थिए । सार्वजनिक कार्यक्रमहरूमै उनले भन्ने गरेका थिए, “यो गठबन्धन पाँचैवर्ष जान्छ, कसैले इफ, बट केही नसोचे हुन्छ ।”

तर, त्यही गठबन्धन किन फलदायी नभएको निष्कर्षमा पुगे प्रधानमन्त्री प्रचण्ड ? माओवादी नेताहरूले अध्यक्षले बोलेको कुरा पार्टीकै धारणा रहेको बताउँछन् । नेपालभ्युजसँग एक पदाधिकारी भन्छन्, “गठबन्धन भनेको बराबर मर्का र अवसर बाँड्ने हो । तर, खासगरी कांग्रेससँगको गठबन्धनचाहिँ फाइदा मात्रै बाँडिने तर, अपजसचाहिँ सबै माओवादीले लिनेजस्तो देखियो । यही कुरा अध्यक्ष कमरेडले बोल्नुभएको हुनुपर्छ ।”

महासचिव देवप्रसाद गुरुङ भने प्रधानमन्त्री प्रचण्डको भनाइलाई नतन्काउन आग्रह गर्छन् । “उहाँले सन्दर्भगतरूपमा त्यसो भने पनि पार्टी गठबन्धन गर्नुपर्छ भन्नेमै छ । कांग्रेससँगको गठबन्धन अहिलेको आवश्यकता हो,” उनी भन्छन् ।

तर, राजनीति सबै सम्भावनाहरूको खेल भएको उनी बताउँछन् । यसपछि नेपालभ्युजले उनलाई के पुन: वाम दलहरूबीच एकता हुँदैछ ? भनेर जिज्ञासा राख्यो । जवाफमा उनी भन्छन्, “माओवादी कहिल्यै एकता र सहकार्यको विरुद्धमा छैन ।”

त्यसो त पछिल्लो समय यसखाले प्रयासहरू भइरहेकै छन् । यसअघि मात्रै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा नेतृत्वको रहेको वार्ता समितिबीच दुई आवासीय बैठक ललितपुरको एक होटलमा सम्पन्न भएका छन् ।

सूत्रले बताएअनुसार दुवै पार्टीको वार्ता समितिले अध्यक्षलाई वार्तामा भएको प्रगति समेटेर प्रतिवेदन बुझाइसकेका छन् । तर, अध्यक्षस्तरमै कुरा मिलेको छैन । माओवादीले दुई अध्यक्षात्मक प्रणालीमै जान प्रस्ताव गरेको छ । तर, एमालेले मानेको छैन । अध्यक्ष केपी शर्मा ओलीले यसबारे सार्वजनिक कार्यक्रममै पनि बोलेका थिए । केही समय अगाडि काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रममा उनले भनेका थिए, “अब दुई अध्यक्ष राखेर पार्टी एकता गर्न सकिँदैन । त्यो प्रणाली फेल भइसक्यो ।”

जे होस्, अहिले पनि वार्ता भइरहेको नेताहरू बताउँछन् । वाम एकताका सन्दर्भमा माओवादी उपमहासचिव वर्षमान पुन ‘अनन्त’, एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायत पनि सक्रिय छन् । उनीहरूले पनि दोस्रो तहका नेताहरूबीच सख्त छलफल चलाइरहेका छन् ।

यता अहिले माओवादीको साझेदार बनेको नेपाली कांग्रेस नेताहरूले भने गठबन्धनबाट माओवादीलाई कुनै घाटा नभएको जिकिर गर्छन् । नेता रमेश लेखक भन्छन्, “गठबन्धनबाट माओवादीलाई कसरी घाटा भयो र ? अझ हामीले त गठबन्धन सफल होस् भनेर सरकारको नेतृत्व तेस्रो दललाई दिएका हौँ ।”

कांग्रेस सभापति शेरबहादुर देउवानिकट अर्का नेताको ठम्याइमा भने प्रधानमन्त्री प्रचण्डले ‘सत्ता सुम्पनुपर्छ’ भनेर खबरदारीको साइरन बजाएका हुन् । उनी भन्छन्, “प्रधानमन्त्रीजीलाई कहाँबाट लाग्यो कुन्नि कांग्रेससँगको गठबन्धन फलदायी भएन भनेर मलाई थाहा छैन । तर, उहाँले सत्ता छाड्नुपर्छ भनेर खबरदारी गर्नुभएको हुनसक्छ । यसबारे छलफल गर्छौँ ।”

त्यसो त गठबन्धनमा प्रचण्डले दुईवर्ष प्रधानमन्त्री पद सम्हालिसकेपछि बीचको एक वर्ष सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने समझदारी बनेको छ ।

ती नेता थप्छन्, “उहाँले एमालेलाई देखाएर कांग्रेसलाई तर्साउने नीति ल्याउनुभयो कि !”

जे होस्, उत्तरी-दबाब पनि वाम एकता हो । यसबीचमा विभिन्न नाममा त्यहाँबाट दर्जनौं ‘डेलिगेशन’हरू भएका छन् । अहिले कम्तिमा माओवादी, एमाले र एकीकृत समाजवादी एकठाउँमा रहनुपर्छ भनेर उत्तरले चाहेको राजनीतिक विश्लेषकहरू पनि बताउने गर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved