भ्यालेन्टाइन ‘डे’मा सौराहाका होटल भरिभराउ

नेपालभ्युज

भ्यालेन्टाइन ‘डे’मा सौराहाका होटल भरिभराउ

रत्ननगर । भ्यालेन्टाइन ‘डे’ अर्थात् प्रेम दिवस लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ भएका छन् ।

१८औँ संस्करणको फुड फेष्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका हुन् ।

मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको सौराहा भूकम्प, नाकाबन्दी, सडक समस्या र कोरोना माहामारीलगायत कारण सुस्ताएको थियो । पछिल्लो समय पर्यटकीय गतिविधि चलायमान हुँदै गएपछि व्यवसायी उत्साहित भएका हुन् ।

सौराहामा पर्यटक लक्षित कार्यक्रम गरेर आन्तरिक पर्यटक भित्र्याउने चलन थियो । रेष्टुराँ एण्ड बार एशोसियशन नेपाल (रेवान) सौराहाका अध्यक्ष धुव्र गिरीले भने, “यो समयमा स्वदेशीसँगै विदेशी पर्यटकको चाप देख्दा हामी उत्साहित भएका छौँ ।”

अब सौराहामा नाइट लाइफ हेर्न बसपार्क साइड, प्रकृतिक सौन्र्दयमा रमाउन रिभर साइड क्षेत्रलाई सौन्दर्यकरण गर्ने रेवानले घोषणा गरेको बताउँदै गिरीले फुड फेष्टिवललगत्तै काम सुरु गरिने जानकारी दिए । उनका अनुसार सौराहामा फुड फेष्टिवल लक्षित गरी ८० प्रतिशत होटल बुक भइसकेका छन् ।

अर्थतन्त्रको समस्याले कतै आन्तरिक पर्यटकको सङ्ख्यामा कमि हुन्छ कि भने चिन्तामा रहेका सौराहाका पर्यटन व्यवसायीलाई फुड फेष्टिवलसँगै बढेको पर्यटकीय चलहपहलले निकै उत्साहित बनाएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्दै जाँदा सुस्ताउँदै गरेको पर्यटनलाई पुनःगतिशील बन्ने सङ्केत दिएको पर्यटन व्यवसायी वासु ढुङ्गानाले बताए ।

सौराहाका रेष्टुराँमा विभिन्न खानाको स्वाद लिन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको रेवानका महासचिव नवीन नेपालले बताए । फेष्टिवलमा नयाँनयाँ स्थानीय परिकारका खानाको स्वादमा पर्यटक खुसी देखिएका उनको भनाइ थियो ।

सौराहामा मात्रै साना–ठूला गरी एक सय ४० बढी होटल सञ्चालित छन् ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटक बढी आउने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved