नम्बर वान नबिलको नवीनतम काम, विगतदेखि वर्तमानसम्म

नेपालभ्युज

नम्बर वान नबिलको नवीनतम काम, विगतदेखि वर्तमानसम्म

काठमाडौं । चालु आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाको अर्धवार्षिक समीक्षाअनुसार नबिल बैंक वाणिज्य बैंकमध्ये नाफा कमाउनेमा नम्बर वान बनेको छ ।

गत ६ महिनामा बैंकले खुद नाफा मात्रै १८ दशमलव ४५ प्रतिशत अर्थात् २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ रहेको छ । स्थापनाकालमा बैंकले ३ करोड पूँजीबाट कारोबार सुरु गरेकाे थियो ।

पछिल्लो समय ग्राहकहरूको विश्वास जित्दै नबिल बैंक निजी क्षेत्रको निकै नै बलियो बैंकको रूपमा स्थापित भइसकेको छ ।

कसरी बन्यो नबिल बैंक

नबिल बैंकको स्थापना कथा अरब बैंकसंग जोडिएको छ । आर्थिक वर्ष २०४१-०४२ को बजेटले बैंकिङ क्षेत्रमा विदेशी लगानीकर्तालाई प्रवेश दिने केही खुकुलो नीति लिएपछि नेपाल अरब बैंक सञ्चालनमा आएको थियो ।

२०५३ सालमा यूएईका लगानीकर्ताको सेयरमध्ये नेशनल बैंक बंगलादेशले ५० प्रतिशत खरिद गरेपछि अरब भन्ने नाम हटाएर बैंकको नाम ‘नबिल’ राखियो ।

नबिल सुरु हुनुभन्दा अगाडि नेपालमा सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले मात्र सेवा दिँदै आएका थिए । सन् १९८४ (२०४१ साल)मा स्थापना भएको नबिल बैंकले कारोबार सुरु गरेको ३९ औं वर्ष पुगिसकेको छ ।

नबिलको नवीनतम वर्क

बैंकले स्थापनाको सुरुवाती चरणदेखि नै बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रस्तुति दिँदै आइरहेको छ । यस बैंक स्थापनाको क्यालेन्डर जति पुरानो हुँदै गयो, बैंकले दिने सेवा सुविधा पनि त्यत्ति नै पृथक र प्रविधिमैत्री बनाउँदै लगिरहेको छ ।

कम्प्युटरमार्फत सेवा दिने काम नै नबिलले नेपालको बैंकिङ इतिहासमै पहिलो पटक सुरु गरेको थियो । ग्राहकको हस्ताक्षर पनि नबिलले नै पहिलो पटक डिजिटलमा सुरु गरेको हो । यसअघि ढड्डा हेर्नुपर्ने बाध्यता थियो । क्रेडिट कार्डमा अन्तर्राष्ट्रिय ब्रान्ड सुरु गर्ने पनि नबिल नै हो ।

रकम भुक्तानीका लागि क्रेडिट कार्ड, एटिएमबाट कारोबार गर्ने मेसिन नबिलले नै पहिलो पटक सुरु गरेको हो । ग्राहकले अनलाइनमार्फत नै खाता खोल्न सक्ने व्यवस्था पनि नबिलले नै गरेको हो ।

जुनसुकै एटिएम काउन्टरबाट पैसा झिक्न मिल्ने व्यवस्था पनि नबिलले नै सुरु गरेको हो । त्यसअघि एउटा शाखाको खाता रहेको एटिएम त्यही शाखामा रहेको एटिएम काउन्टरबाट मात्र पैसा झिक्न मिल्थ्यो । मोबाइल बैंकिङको एप पनि नबिलले नै सुरु गरेको हो ।

नबिलले आफूलाई प्रविधिमा उन्नत बनाउन आफ्ना सम्पूर्ण सेवाहरू डिजिटलमा रूपान्तरण गर्दै लगेको छ । ग्राहकहरूले आफ्ना खाता सञ्चालनका लागि बैंकका शाखा धाउनुपर्ने बाध्यता अन्त्य गर्दै रकम झिक्न र राख्नसमेत घरमै बसिबसी मोबाइल, ल्यापटपमार्फत ग्राहक आफैंले गर्न सक्ने वातावरण मिलाइएको छ ।

यसका अलावा बैंकले मेसिनमार्फत चेक डिपोजिटको व्यवस्था पनि सञ्चालनमा ल्याइसकेको छ । नबिल बैंकमा ग्राहकहरूले आफ्नो स्मार्ट फोनमार्फत कल गरेकै भरमा पनि कर्जा पाउने व्यवस्था समेत बैंकले ल्याइसकेको छ ।

डिजिटल सेवा सुरुवातका चुनौती

नबिल बैंकले आफ्ना सेवाहरू डिजिटलमा रूपान्तरण गराउन सजिलो पक्कै पनि थिएन । सबै ग्राहकको रुचि र चाहाना डिजिटल हुन नसक्ने भएकाले त्यो रूपान्तरणमा निकै समस्या खेप्नुपरेको बैंकले जनाएको छ । बैंकका अनुसार कोभिड महामारी पश्चात् डिजिटल कारोबार गर्ने ग्राहकहरूको संस्थामा वृद्धि भएको छ ।

बैंकको वर्तमान वित्तीय स्थिति

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा अर्थात् ६ महिनामा बैंकले २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा बढी हो । यो नाफा गत आवको यसै अवधिको तुलनामा ३३ करोड ९ लाख बढी हो ।

यस्तै, समीक्षा अवधिमा बैंकले व्यवसायको आकार बढाउँदै प्रतिशेयर आम्दानीमा समेत उत्साहजनक प्रगति गरेको छ । आफ्नो जगेडा कोषको आकार झन्डै दोब्बर बनाएको बैंकको वित्तीय विवरणले देखाएको छ ।

कर्जा प्रवाहमा वृद्धि 

नबिल बैंकले निक्षेप संकलन र कर्जा प्रवाह रकममा पनि क्रमशः २३ र २६ प्रतिशतले सुधार गरेको छ । नबिल बैंकले समीक्षा अवधिमा एक खर्ब ३० अर्ब ७१ करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको यसै अवधिमा बैंकले एक खर्ब २ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

बैंकले चालू आवको दोस्रो त्रैमास अवधिसम्म बैंकले एक खर्ब ४९ अर्ब ३८ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आवको प्रथम त्रैमासमा बैंकले एक खर्ब २१ अर्ब २८ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

घट्यो खराब कर्जा 

चालु आवको सुरुवाती ६ महिनामा नबिल बैंकको खराब कर्जाको अनुपात पनि घटेको छ । गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा अनुपात १ दशमलव १३ प्रतिशत रहेको थियो भने यस वर्ष घटेर ० दशमलव ६२ प्रतिशतमा पुगेको छ ।

चुक्ता पूँँजी स्थिर, जगेडा कोषमा उल्लेख्य वृद्धि 

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी स्थिर रहेको छ भने जगेडा कोषको आकारमा उल्लेख्य सुधार आएको छ । गत पुस मसान्तसम्ममा ७ अर्ब ८५ करोड ५३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषको आकार १४ अर्ब ५२ करोड ३७ लाख पुर्‍याएको छ ।

यससँगै बैंकको सेयर धनी कोष साढे २२ अर्ब बढी पुगेको छ । त्यसै गरी, बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड ३२ लाख रुपैयाँमा स्थिर रहेको छ ।

ब्याजदरमा वृद्धि

नबिल बैंकले निक्षेप लागत र आधार ब्याजदर दुवै बढाएको छ । चालु आवको सुरुवाती ६ महिनाको वित्तीय तथ्यांकअनुसार बैंकले ब्याजदर बढाएको देखिएको छ । बजारमा लगानीयोग्य रकमको अभावको कारण तरलता संकटको अवस्था देखिएकाले बैंकको ब्याजदरमा वृद्धि भएको बैंकले जनाएको छ ।

गत आवको दोस्रो त्रैमासमा बैंकको आधार ब्याजदर ६.९२ प्रतिशत रहेको थियो भने यस वर्ष उक्त ब्याजदर बढेर ७.९४ मा पुगेको छ । त्यस्तै, निक्षेप लागत गत वर्ष ४.४३ प्रतिशत रहेको थियो भने चालु आवमा केही प्रतिशत वृद्धि भएर ५.९२ प्रतिशतमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved