पूर्वसभामुख महराले सुनतस्करी छानबिन समितिलाई दिए बयान

नेपालभ्युज

पूर्वसभामुख महराले सुनतस्करी छानबिन समितिलाई दिए  बयान

काठमाडौं । विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको सुनका चिनियाँ तस्करसँग सम्पर्क देखिएको सन्दर्भमा पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बयान दिएका छन् । सुन छानबिन समितिले सिंहदरबारस्थित कार्यालयमा बोलाएर महरासँग बयान लिएको हो ।

उच्चअदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वको समितिले बयानको लागि उनलाई बोलाएको थियो । महराले बयानमा के के भन्ने भन्ने बिषय बाहिर आउन बाँकी छ ।

विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएको थियो । यही प्रकरणका उनका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो । उनी पुर्पक्षका लागि कारागारमा छन् ।

महरालाई भने कागज गराएर छाडिएको थियो । त्यसबेला सीआईबीसँग उनले ती चिनियाँ नागरिकसँग फलफूल व्यवसायीका रूपमा मात्र चिनजान भएको बताएका थिए ।

२०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी इलेक्ट्रिक सिगरेट (भेप)भित्र ठूलो मात्रामा सुन लुकाएर ल्याएका थिए ।

व्यापारिक प्रयोजनका लागि अवैध ढङ्गले ल्याएको भनी ‘भेप’ जफत गरियो । पछि विमानस्थलका सुरक्षा गार्ड निर्मल विकले भेपभित्र सुन रहेको थाहा पाएपछि सुन चोरीमा दिनेश बस्नेत, भन्सारका नायब सुब्बा रेवन्त खड्का लगायत जोडिएका थिए ।

दिनेशले नासु रेवन्तको सहयोगमा सुन रहेको भेप निकाली सक्कली भेप राख्न सफल भएका थिए । तत्काल खुल्न आए अनुसार सो समूहले भेपबाट करिब ९ किलो सुन निकाली प्रतितोला ८० हजार रुपैयाँमा सुन तस्करीमा संलग्न गिरोहलाई बिक्री गरेको थियो ।

नेता महराका छोरा राहुलले विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतलाई सम्पर्क गरी लिलामीको प्रक्रिया अगाडि बढाइदिन आग्रह गर्दै लिलामको प्रक्रियाबारे बुझेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यही लहरोबाट महरा सुनकान्डमा तानिउका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved