ब्रसेल्स । बुडापेस्टले हङ्गेरीको सार्वभौमसत्ता रक्षा गर्ने र विदेशी प्रभाव रोक्ने उद्देश्यले कानून पारित गरेपछि युरोपेली सङ्घ (इयु) ले हङ्गेरीविरुद्ध कारवाही सुरु गरेको बताएको छ ।
आलोचकहरूका अनुसार उक्त कानून जुनमा हुने महत्त्वपूर्ण इयु र हङ्गेरियाली नगरपालिका निर्वाचनअघि विरोधीहरूलाई मौन बनाउन प्रधानमन्त्री भिक्टर ओर्बनको राष्ट्रवादी सरकारले गरेको पछिल्लो प्रयास हो ।
इयुको कार्यकारी शाखा युरोपेली आयोगले इयुको कानून उल्लङ्घनका लागि हङ्गेरीलाई औपचारिक सूचनाको पत्र पठाइएको थियो भनेको छ । उक्त कदमलाई इयुको शब्दावलीमा उल्लङ्घनको प्रक्रियाका रूपमा चिनिन्छ । हङ्गेरीसँग पत्रको जवाफ दिनका लागि दुई महिनाको समय छ ।
उक्त कदमले इयु र ओर्बनबीच तनाव अझ बढ्ने सम्भावना छ । ब्रसेल्सले यसअघि नै नियम–कानूनको चिन्तालाई लिएर बुडापेस्टका लागि इयुको कोषमा २२ अर्ब युरोमाथि रोक लगाएको छ । बुडापेस्टले नियमितरूपमा इयु र अन्य मुलुक विशेषगरी अमेरिकाले हङ्गेरीमा मतदाताहरूलाई प्रभावित गर्नका लागि कोषका साथ विपक्षीलाई समर्थन गरेको दावी गर्दै आएको छ ।
गत वर्ष पारित भएको हङ्गेरीको कानूनले निर्वाचन अभियानका लागि विदेशी कोषलाई अपराध घोषित गर्दछ र व्यापक अनुसन्धान गर्ने अधिकारका साथ नयाँ सार्वभौमसत्ता संरक्षण कार्यालय स्थापना गरेको छ ।
ब्रसेल्सले हङ्गेरीको कदमले इयुको कानूनका धेरै तत्वहरूलाई उल्लङ्घन गरेको ठानेको छ । “विशेषरूपमा जब लोकतन्त्रको सिद्धान्त र इयुको नागरिकहरूको निर्वाचनको कुरा आउँछ”, आयोगका प्रवक्ता अनिता हिपरले ब्रसेल्समा एक पत्रकार सम्मेलनमा भने, “व्यापक अधिकारसहितको नयाँ प्राधिकरणको स्थापना र अनुगमन, कार्यान्वयन र स्वीकृतिको कडा व्यवस्थाले लोकतन्त्रलाई गम्भीररूपमा हानि पुर्याउने खतरा छ ।”
ओर्बनको सत्तारूढ फिडेज पार्टीले सन् २०२२ को निर्वाचनका लागि अमेरिकास्थित एनजिओबाट पैसा प्राप्त भएको विपक्षी दलहरूविरुद्धको आरोपपछि उक्त कानूनले ‘चुनावी चाल’ समाप्त पार्ने तर्क दिएको छ ।
प्यान–युरोपेली अधिकार निकाय युरोप काउन्सिलले उक्त कानून मानवअधिकारका लागि महत्त्वपूर्ण खतरा रहेको तर्क दिँदै हङ्गेरीलाई कानून त्याग्न आग्रह गरेको छ । एमनेस्टी इन्टरनेसनलसहित अधिकार समूहहरूले पनि चिन्ता व्यक्त गरेका छन् ।
उक्त कानूनको प्रयोग आलोचकहरूलाई डराउन र धम्क्याउनका लागि गरिने छ भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ । अमेरिकी विदेश मन्त्रालयलका प्रवक्ता म्याथ्यु मिलरले डिसेम्बरमा उक्त कानून ‘लोकतन्त्र, व्यक्तिगत स्वतन्त्रता र कानूनको शासनको हाम्रा साझा मूल्यहरूसँग असङ्गत छ’ भनेका थिए ।
Facebook Comment
Comment