प्रहरीमा राजीनामा दिनेको लहर, विमानस्थल प्रमुखले किन छाडे सेवा ?

प्रहरीमा प्रवेश गर्दा १६ महिना कष्टपूर्ण तालिम गर्नुपर्छ । लोकसेवाबाट नाम निकालेर तालिमसम्म पुग्नुपर्ने संघर्ष कम छैन । तर, तालिम सकिसकेपछि भने जागिरमा बसिरहन आवश्यक मान्दैनन् उनीहरू । त्यसपछि उनीहरू जागिर छोड्न बाध्य हुन्छन् । किन त ?

नेपालभ्युज

प्रहरीमा राजीनामा दिनेको लहर, विमानस्थल प्रमुखले किन छाडे सेवा ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले अचानक राजीनामा दिएपछि धेरै आश्चर्यमा परेका छन् ।

धेरै कोणबाट उनको राजीनामाको पछाडिको कारणबारे चर्चा भइरहेका छन् । उनको राजीनामा स्वीकृत भइनसके पनि यसले एक प्रकारको तरङ्ग ल्याएको छ ।

डिआइजी पदलाई प्रहरी संगठनभित्रको एक महत्त्वपूर्ण पदका रूपमा हेर्ने गरिन्छ । प्रहरी संगठनभित्रको नेतृत्वदायी पद रहेको डीआएजीलाई भोलीको प्रहरी सङ्गठनकै नेतृत्वकर्ताको दाबेदारको रूपमा पनि लिइन्छ । यसैले डीआइजी चन्दको राजीनामाले सङ्गठनभित्र हलचल ल्याएको छ ।

यसअघि पनि पदावधि छँदै प्रहरी उच्च अधिकारीहरूले राजीनामा नदिएका भने होइनन् । गत वैशाखमा मात्रै एसपी आभूषण तिम्सिनाले प्रहरी सेवा छाडेका थिए ।

बढुवामा छुटेकाले तीव्र असन्तुष्टि व्यक्त गरेका थिए । योग्यताको आधारमा भन्दा पनि राजनीतिक शक्ति केन्द्र धाएर बढुवा हुने गरेको भन्दै उनको विरोध थियो ।

बढुवामा असन्तुष्टि देखाउँदै राजीनामा दिने उनी पहिलो प्रहरी अधिकारी भने होइनन् । २०७५ माघमा १४ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस भएपछि असन्तुष्ट जनाउँदै नरेन्द्र उप्रेतीले राजीनामा दिएका थिए । आफूभन्दा जुनियरलाई बढुवा गरिएपछि नैतिकताको कारण भन्दै उनले सङ्गठन छाडे ।

प्रहरीका प्राविधिक तर्फका डिआइजी डा. राजीव सुब्बा पनि २०७६ फागुनमा सेवाबाट यसैगरी बाहिरिए ।

उनीहरू मात्र होइन प्रहरी महानिरीक्षकको नियुक्तिमा राजनीति भएको भन्दै धेरै प्रतिस्पर्धीले राजीनामा दिएका घटना छन् ।

एआइजी विश्वराज पोखरे तथा डिआइजीहरू नवराज सिलवाल र रमेश खरेलको राजीनामा त्यसैको कारण थियो । त्यसअघि एसएसपी घनानन्द भट्ट र सुबोध घिमिरेले पनि संगठनमा अन्याय भएको भन्दै जागिर छाडेका थिए ।

एसपी गोरखसिंह भण्डारी, सानुकाजी लामिछानेले पनि सङ्गठनको कामप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । यी त प्रहरी सङ्गठनबाट जागरी छाड्ने माथिल्लो तहका केही कर्मचारी मात्र हुन् ।

किन आयो राजीनामाको लहर ?

पछिल्लो समय नेपाल प्रहरीमा राजीनामा दिने प्रहरीको सङ्ख्या बढ्दै गएको देखिन्छ । गएको पाँच वर्षको अवधिमा झन्डै ७ हजार प्रहरीले राजीनामा दिएको तथ्याङ्क छ ।

नेपाल प्रहरीमा प्रवेश गर्दा जवानदेखि असई र प्रहरी निरीक्षकले १६ महिना कष्टपूर्ण तालिम गर्नुपर्छ । नाम निकालेर तालिमसम्म पुग्नुपर्ने संघर्ष कम छैन ।

तर, तालिम सकिसकेपछि भने जागिरमा बसिरहन आवश्यक मान्दैनन् उनीहरू । त्यसपछि उनीहरू जागिर छोड्न बाध्य हुन्छन् ।

अहिले चालु आर्थिक वर्ष लागेपछि पनि राजीनामाको क्रम रोकिएको छैन । डीआइजी चन्दसँगै जुनियर धेरै प्रहरीको राजीनामा आइरहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९-८० मा भने ६३२ जनाले राजीनामा बुझाएका थिए । २०७८-७९ मा ४९८ जना प्रहरीले राजीनामा दिएर घर गए । सबैभन्दा धेरै प्रहरी जवान थिए ।

आर्थिक वर्ष २०७४-७५ मा २ हजार ५६४ जना प्रहरीले जागिरबाट राजीनामा दिएका थिए । सबैभन्दा धेरै प्रहरी हवलदार थिए ।

तीनजना प्रहरी नायव महानिरीक्षक, दुईजना प्रहरी नायव उपरीक्षक, ८ जना प्रहरी निरीक्षकले पदावधि रहँदै जागिर छाडेका थिए ।

आर्थिक वर्ष २०७६-७७ मा जागिर छोड्ने प्रहरीको सङ्ख्यामा केही कमी भयो । २ हजार ७७ जना प्रहरीले जागिर छोडे ।

आर्थिक वर्ष २०७७-७८ मा भने राजीनामा दिने प्रहरीको सङ्ख्या घट्यो । ७०३ जना प्रहरीले राजीनामा दिएका छन्। जसमा दुई जना प्रहरी नायव उपरीक्षक पनि थिए ।

कति स्वाभाविक ?

प्रहरी प्रवक्ता भीम ढकाल भने प्रहरीमा जागिर छाडनु र भर्ना हुनु नौलो विषय नभएको दाबी गर्छन् ।

उनी भन्छन्, ‘‘ठुलो संगठनमा छाड्नु र आउनु स्वाभाविक हो । केही असन्तुष्टि होला । तर, यसलाई विकराल अवस्था भनेर भन्न मिल्दैन ।’

कतिपयले भने यसलाई समीक्षा गर्नुपर्ने सुझाव दिन्छन् । जागिर छाड्ने प्रहरी कर्मचारी बढ्दा सङ्गठन र राज्यलाई नै घाटा पुर्‍याउने पूर्व प्रहरीहरूको तर्क छ ।

पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्–‘एकजनालाई जागिरका लागि योग्य बनाउन राज्यले ठूलो लगानी र समय खर्च गरेको हुन्छ । सङ्गठन र जिम्मेवारीका लागि अनुभवी बनेपछि जागिर छाड्दा त्यसले ठूलो असर पर्छ । उ माथिको राज्यको लगानी खेर जान्छ ।’

सरुवा बढुवामा पछिल्लो समय जुन राजनीतिक हस्तक्षेपले राजीनामा आइरहेको धेरैको आकलन छ ।

पूर्व प्रहरीहरू भन्छन्, ‘संगठनमा राजनीति हावी छ । निष्ठावान् र सक्षमभन्दा पनि शक्ति केन्द्रमा धाउनेहरूले अवसर पाइरहेका छन् । प्रहरी कर्मचारीहरूमा निराशा छ ।’

चन्दको राजीनामा कारण ?

विमानस्थल प्रहरी प्रमुख चन्दको राजीनामाको घटना भने अलि फरक रहेको जानकारहरूको टिप्पणी छ । यद्यपि उनको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

कतिपयले विमानस्थलमा अध्यागमन विभागका कर्मचारी र प्रहरीबीच भएको कुटपिटसँग जोडेका छन् । कतिपयले प्रहरी प्रमुख आइजीपी वसन्त कुँवरसँगको मतभेदलाई लिएका छन् ।

उनको राजीनामालाई कतिपयले सुन तस्करी अनुसन्धान समितिले गरिरहेको छानबिनसँग जोडेर हेरेका छन् ।

विमानस्थल सुरक्षा कार्यालयका अधिकृतहरूका अनुसार, विमानस्थलमा प्रहरी र अध्यागमन अधिकृतबीच विवाद हुँदा गृहले बनाएको समितिको प्रतिवेदनमा उनको असन्तुष्टि छ ।

समितिले प्रतिवेदन बुझाएलगत्तै डिआइजी चन्दले असन्तुष्टि व्यक्त गरेका थिए ।

१२ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानमाथि एक प्रहरीले हातपात गरेका थिए ।

त्यो दिन चन्द बिदामा थिए । यो मामिलामा प्रहरीले आफ्नो ड्युटी निभाएको भन्दै उनीहरूलाई पुरस्कृत गर्नुपर्ने डिआइजी चन्दले बताउँदै आएका थिए । तर, प्रतिवेदनमा प्रहरीले गलत गरेको भन्ने आएपछि चन्द असन्तुष्ट थिए ।

छानबिन गर्न गृह मन्त्रालयले बनाएको सह–सचिव थानेश्वर गौतम नेतृत्वको समितिले त्यहाँ ड्युटी अफिसर रहेका डीएसपी रेवतीरमण पोखरेलसहित असई तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र अर्का प्रहरी जवान राजकुमार महतोलाई समेत कारबाही सिफारिस गरेपछि चन्द असन्तुष्ट हुन् ।

अध्यागमन अधिकृत मोक्तानलाई भने विमानस्थलबाट हटाएर गृह मन्त्रालयमा लैजाने सिफारिस मात्रै भएपछि उनी असन्तुष्ट भएको बताइएको छ ।

एक प्रहरी अधिकारी भन्छन्, ‘‘गृह मन्त्रालयमा यो प्रतिवेदन बुझाएलगत्तै उहाँले असन्तुष्टि जनाउनुभएको थियो । त्यही बेलादेखि उनले ‘यस्तो जागिर खाइँदैन’ भन्नुभएको थियो ।’’

अधिकांश प्रहरी अधिकृतहरू यो प्रतिवेदनप्रति रुष्ट देखिन्छन् । यसले सङ्गठनका अधिकांश अधिकृतहरूलाई निराश मात्र हैन रुष्टसमेत बनाएको कतिपयको टिप्पणी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved