काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र प्रहरी बलको सेवा, सुविधा वृद्धिको कामलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन् ।
२३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री दाहालले प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणका लागि दक्ष र चनाखो रहन पनि सशस्त्र प्रहरी बललाई निर्देशन दिए । उनले सूचना प्रविधिको बहुआयामिक प्रभावसँग साक्षात्कार भई त्यसको परिचालन राष्ट्रिय हित अनुकुल गर्न पनि सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुलाई सचेत गराए ।
प्रधानमन्त्री दाहालले सीमा सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरीले बलले खेलेको भुमिकाको प्रशंसा गर्दै सो सम्बन्धि तय गरिएको कार्यक्रमलाई सरकारले दृढताका साथ अघि बढाउने बताए ।
उनले भने,‘विश्वव्यापीकरण तथा सूचना प्रविधिमा आएको बहुआयामिक विकासले एकातिर हामीलाई अवसरका अनगिन्ति ढोकाहरु खोलिदिएको छ भने त्यसले मुलुकको समृद्धिका लागि महत्वपूर्ण आधारिशला पनि तयार भएको छ । अर्कोतर्फ सूचना प्रविधिको विकाससँगै नयाँ नयाँ अपराध र सुरक्षा चुनौतिसमेत थपिएका छन ।’
प्रधानमन्त्री दाहालले सशस्त्र प्रहरी बलले मुलुकको समृद्धिको अभियानमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।
Facebook Comment
Comment