असई थमन विक हत्या आरोपमा जन्मकैद पाएका ठाकुर जेल चलान

नेपालभ्युज

असई थमन विक हत्या आरोपमा जन्मकैद पाएका ठाकुर जेल चलान

जनकपुरधाम । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा जन्मकैदको सजाय पाएकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेर जेल चलान गरेको छ।

विक हत्यामा जेल चलान हुनेमा जलेश्वर नगरपालिका वडा नम्बर ९ परिकौली बस्ने मोहन ठाकुर रहेका छन् ।

जिल्ला अदालत महोत्तरीले मंसिर २८ गते मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको घटनाको फैसला सुनाउँदै सो घटनामा संलग्न रहेका सात जनालाई जन्मकैदको सजाय हुँदा दुई जनालाई सफाइ दिएको थियो।

जिल्ला अदालत महोत्तरीले असई थमन विकको हत्यामा संलग्न भएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लासपा) नेपालको मधेस प्रदेशका संसदीय दलका नेता तथा पूर्व सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, हत्याको आरोपमा धरौटीमा रिहा भएका मोहन ठाकुर, जलेश्वर नगरपालिकाका पूर्व नगर प्रमुख रामशंकर मिश्र, लोसपाका महासचिव सुरेश पाण्डेय तथा धर्मेन्द्र रायलाई जन्मकैदको फैसला गरेको हो । त्यसैगरी हत्याको आरोपमा कारागारमा रहेका प्रदीप साह र सञ्जयकुमार साहलाई समेत जन्म कैदको फैसला भएको हो।

महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका एमालेका सांसद लक्ष्मी महतो कोइरी र थमन विकको हत्या आरोपमा पक्राउ परेर पाँच वर्षदेखि कारागारमा रहेका पवन कापरलाई सफाइ दिएको थियो।

थमन विक हत्याको आरोपमा धरौटीमा रिहा भएका मोहन ठाकुरलाई सिन्धुलीबाट पक्राउ गरेर जेल चलान गरिएको हो।
पक्राउ ठाकुर लेनदेन मुद्दामा सिन्धुली कारागारबाट सजाय काटी निस्कनै लाग्दा प्रहरीले तत्कालै नियन्त्रणमा लिएर महोत्तरी कारागारमा सजाय भुक्तानको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए।

यसभन्दा अगाडि ठाकुर पहिलोपटक पक्राउ गरेर दुई महिना २५ दिन कारागार बसेर धरौटीमा रिहा भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved