काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने मागमा सरकार सकारात्मक रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएशनको १६ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले नेपाल इन्जिनियरिङ एशोसिएशनले सो कलेज स्थापना गर्ने मागलाई विगत लामो समयदेखि उठाउँदै आएको उल्लेख गर्दै त्यसलाई स्थापना गर्ने कामलाई आफूले गाह्रो कामको रुपमा नलिएको पनि स्पष्ट पारे ।
इन्जिनियरहरुको क्षमता अभिवृद्धि, पेशागत विकास र उन्नयनका निम्ति छुट्टै कलेजको माग राख्नु स्वभाविक रहेको प्रधाममन्त्री दाहालको भनाई थियो । प्रधानमन्त्री दाहालले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको कामलाई प्राथमिकताका साथ अघि बढाएको समेत बताए । उनले मुलुकको समृद्धिका लागि गुणस्तरीय पूर्वाधार विकासमा जोड दिनुपर्ने भएकाले पनि त्यसमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने चुनौती सामना गर्न पनि सरकारले इन्जिनियर तथा प्राविधिकहरुको समुचित परिचालनमा जोड दिन चाहेको पनि प्रधानमन्त्री दाहालले बताए ।
प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक विकासको ढोका खोल्न र दूरदराजमा रहेकाहरुको पनि आर्थिक विकासका लागि पूर्वाधार विकासको कामलाई तीव्रता दिनुपर्ने जरुरी रहेको बताए ।
Facebook Comment
Comment