काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई जनाको ज्यान गएको बालकुमारी घटनालाई लिएर सरकारलाई प्रश्न गरेको छ ।
केन्द्रीय र्याट विभागको आयोजनामा ‘जवाफ चाहियो सरकार’ कार्यक्रम आयोजना गरी रास्वपाले प्रश्न राखेको हो ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्ला बनाई प्रश्न सोधिएको थियो । सहभागी नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री र गृहमन्त्रीलाई फरक फरक प्रश्न गरेका थिए ।
रोजगारीका लागि विदेश जान पनि विभेद नहोस् भन्नेलाई किन गोली हानेर मार्न लगाउनु भयो प्रधानमन्त्रीज्यू?, मन्त्रीकै सवारी साधन जोगाउन नसक्ने सरकारले नागरिकलाई सुरक्षा दिन्छ भनेर कसरी पत्याउँ प्रधानमन्त्रीज्यू? जस्ता प्रश्न राखिएको थियो ।
त्यस्तै गृहमन्त्रीलाई घटनापछि तपाईं यो देशको गृहमन्त्री भइरहनु पर्ने एउटा मात्रै कारण देखाइदिनु न गृहमन्त्रीज्यू ?, दुई युवा देश छोड्न खोज्दै थिए, संसार छोड्न बाध्य बनाइदिनु भयो है, किन गृहमन्त्रीज्यू ? जस्त प्रश्न पार्टीक नेता तथा सांसदले राखेका हुन् ।
पार्टीका सांसद तथा नेताहरुले सम्बोधन गरेको विरोध कार्यक्रममा गृहमन्त्रीको राजीनामासमेत माग गरिएको थियो । प्रश्न राखेसँगै जवाफ पनि मागिएको छ ।
प्रधानमन्त्रीलाई सोधिएका प्रश्न
१. प्रधानमन्त्रीज्यू मन्त्रीकै सवारी साधन जोगाउन नसक्ने सरकारले नागरिकलाई सुरक्षा दिन्छ भनेर ग्यारेन्टी कसरी गर्नुहुन्छ ?
२. इलम गर्न पाऊँ भन्नेलाई सरकार किन दिन्छ गोली, यस्तै शासक रहिरहे व्यवस्थै मासिएला भोलि !
३. सरकार सामान्य प्रदर्शन पनि घातक बल प्रयोग नगरी रोक्न नसक्ने कमजोर अवस्थामा पुगिसकेको हो ?
४. निरासाले तड्पिएका युवालाई गोली उपहार, दिनदाहडै जनता मार्ने किन चाहियो सरकार, जवाफ दिनुहोस् प्रधानमन्त्रीज्यू?
५. भ्रष्टाचार र अनियमितता मौलाउँदा युवा बेरोजगारी, जनता मार्दै शासन गर्ने कस्तो नियत सरकारी?
६. सरकारले समयमै माग सम्बोधन नगर्दा ज्यान गुमाएका युवाको आत्माले पिरोल्दा कसरी मन शान्त बनाउनुहुन्छ प्रधानमन्त्रीज्यू?
७. गोली हानेर, मान्छे मारेर समस्याको समाधान खोज्ने कस्तो लोकतान्त्रिक शासन हो यो प्रधानमन्त्रीज्यू?
८. प्रधानमन्त्रीज्यू, नागरिकको ‘हत्या’का लागि गोली बर्साउन आदेश दिने गृहमन्त्रीलाई कहिले बर्खास्त गर्नुहुन्छ?
९.जनताको दुहाई दिएर सत्तामा पुग्नेले जनता नै किन मार्छन् प्रधानमन्त्रीज्यू?
१०. रोजगारीका लागि विदेश जान पनि विभेद नहोस् भन्नेलाई किन गोली हानेर मार्न लगाउनु भयो प्रधानमन्त्रीज्यू?
गृहमन्त्रीलाई प्रश्न
१. आन्दोलन हुँदैछ भन्ने थाहा हुँदा–हुँदै भौतिक मन्त्रीलाई तपाईंको प्रहरी–प्रशासनले किन त्यो बाटोबाट पठायो गृहमन्त्रीज्यू?
२. ज्यान लिनेलाईं निलम्बन मात्रै! फौजदारी अभियोग लगाउने हिम्मत किन आएन गृहमन्त्रीज्यू?
३. आन्दोलनलाई नियन्त्रण गर्न सुरुमै गोली चलाउने आदेश किन दिनुभयो गृहमन्त्रीज्यू?
४. हिजोको घटनापछि तपाईं यो देशको गृहमन्त्री भइरहनु पर्ने एउटा मात्रै कारण देखाइदिनु न गृहमन्त्रीज्यू?
५. तपाईंले गरेको काम र तपाईंका मातहतमा रहेको निकायले गरेको कामको छानबिन पनि त्यहिँ निकायले गर्दा निष्पक्ष हुन्छ भनेर हामीले पत्याइदिनु पर्ने हो गृहमन्त्रीज्यू?
६. दुई युवा देश छोड्न खोज्दै थिए, संसार छोड्न बाध्य बनाइदिनु भयो है, किन गृहमन्त्रीज्यू ?
Facebook Comment
Comment