प्रधानमन्त्री कप महिला क्रिकेट :

बागमतीलाई हराउँदै एपीएफ क्वालिफायरमा, गण्डकीमाथि सुदूरपश्चिमको जित

नेपालभ्युज

बागमतीलाई हराउँदै एपीएफ क्वालिफायरमा, गण्डकीमाथि सुदूरपश्चिमको जित

काठमाडौं। प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा एपीएफले बागमती प्रदेशलाई र सुदूरपश्चिमले गण्डकीलाई पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले बागमतीलाई ४७ रनले पराजित गरेको छ। यससँगै एपीएफले क्वालिफायर खेल्ने पक्का भएको छ। गण्डकीको यात्रा भने समाप्त भएको छ।

१२७ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको बागमतीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा मात्र ७९ रन बनायो। बागमतीका लागि सोनी पाख्रीनले २० र याशु पान्डेले १७ रन बनाए। एपीएफका लागि सुमन विष्टले २ तथा सोनु खड्का, करुणा भण्डारी, नेरी थापा र सीता राना मगरले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको एपीएफले पूरै ओभर खेलेर ३ विकेटको क्षतिमा १२६ रन बनायो। एपीएफका लागि सीता राना मगरले ४४ रन र इन्दु बर्माले २८ रन बनाईन्। बागमतीका लागि भने साविका यादव, मनिशा उपाध्याय र संस्कृति फुयालले १–१ विकेट लिइन्।

लगातार ७ खेलमा जित हासिल गरेको एपीएफ १४ अंकसहित शीर्ष स्थानमा छ। ७ खेलबाट ८ अंक जोडेको बागमती भने चौथो स्थानमा छ।

यस्तै, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा सुदूरपश्चिमले गण्डकीलाई २४ रनले पराजित गरेको हो।

१२८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको गण्डकीले पूरै ओभर खेलेर २ विकेटको क्षतिमा मात्र १०३ रन बनायो।

गण्डकीका लगि सुमन खतिवडाले अविजित ४९ रन बनाइ र सीमाना केसीले अविजित १९ रन बनाए। सुदूरपश्चिमका लागि रितु कनौजिया र लक्ष्मी साउदले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १२७ रन बनाएको हो। सुदूरपश्चिमका लागि सम्झना खड्काले २६ र कप्तान रितु कनौजियाले अविजित २१ रन बनाईन्। गण्डकीका लागि भने रचना चौधरी र कुसुम गोदारले २–२ तथा सुमन खतिवडाले १ विकेट लिए।

७ खेलबाट १० अंक जोडेको सुदूरपश्चिम अंक तालिकाको तेस्रो स्थानमा छ। ७ खेलबाट मात्र २ अंक जोडेको गण्डकी भने सातौं स्थानमा छ।

अब पहिलो क्वालिफायरमा एपीएफले दोस्रो स्थानमा हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। आजै हुने अर्को खेलमा कोशी र लुम्बिनी आमने सामने हुनेछन्। सो खेलबाट दोस्रो स्थानको छिनो फानो हुनेछ। इलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोलीले प्रतिस्पर्धा गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved