प्रधानमन्त्री कप महिला क्रिकेट :

प्लेअफ समीकरण पूरा, एपीएफ एक खेल अगाडि नै क्वालिफायरमा

नेपालभ्युज

प्लेअफ समीकरण पूरा, एपीएफ एक खेल अगाडि नै क्वालिफायरमा

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफ समीकरण पूरा भएको छ।

बिहीबार एपीएफले गण्डकीलाई र बागमतीले कर्णालीलाई पराजित गरेसँगै प्लेअफ समीकरण पूरा भएको छ।

६ खेलमा लगातर जित हासिल गरेको एपीएफ १२ अंकसहित शीर्ष स्थानमा छ। ६ खेलबाट १० अंक जोडेको कोशी दोस्रो स्थानमा, ६ खेलबाट ८ अंक जोडेको सुदूरपश्चिम तेस्रो स्थानमा र बागमती ८ अंकसहित चौथो स्थानमा रहँदै प्लेअफ खेल्ने पक्का भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गरेको हो। एपीएफको यो लगातार छैंटौ जित हो। यससँगै एपीएफ एक जित अगाडि नै क्वालिफायर पुगेको छ।

१२८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको गण्डकीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा मात्र ७५ रन बनायो। गण्डकीका लागि सुमन खतिवडा र सृष्टि जैसीले १७–१७ रन जोडे। एपीएफका लागि नेरी थापाले ४, सोनु खड्काले २ तथा करुणा भण्डारीले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको एपीएफले पूरै ओभर खेलेर ३ विकेटको क्षतिमा १२७ रन बनायो। एपीएफका लागि ममता चौधरीले अविजित ४० र रोमा थापाले अविजित ३१ रन बनाए। गण्डकीका लागि ज्योत्स्निका मरासिनीले २ तथा कुसुम गोदारले १ विकेट लिए।

यस्तै, मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्यो। ४३ रनको झिनो लक्ष्य बागमतीले ४.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। बागमतीका लागि यशु पान्डेले अविजित २५ र हेलिशा गुरुङले अविजित १३ रन बनाए।

पहिले ब्याटिङ गरेको कर्णाली १३.४ ओभरमा ४२ रनमा अलआउट भयो। कर्णालीका लागि शुराती बाडाले १६ र बिना थापाले १२ रन बनाए। बागमतीका लागि खुसी डंगोलले ४, संस्कृति फुयालले २ तथा बिपिशा शाही र सोनी पाख्रीनले १–१ विकेट लिए।

शीर्ष २ टोलीले क्वालिफायर खेल्नेछन्। क्वालिफायरमा पराजित भएको टोलीले फाइनल पुग्ने थप एक अवसर पाउने छ। तेस्रो रु चौथो स्थानका टोलीले इलिमिनेटर खेल्ने छन्।

इलिमिनेटरले दोस्रो क्वालिफायरमा स्थान पक्का गर्नेछन्। दोस्रो क्वालिफायरमा भने इलिमिनेटरको विजेता र पहिलो क्वालिफायरमा पराजित भएको टोलीबीच प्रतिस्पर्धा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved