राष्ट्रियसभा निर्वाचनमा कांग्रेससँग मिलेर अरुलाई रित्तै बनाउने एमालेको अर्को रणनीति, होला त सफल ?

जसरी पनि सत्तागठबन्धनमा फाटो ल्याउने एकसुत्रीय रणनीतिमा अघि बढेको एमालेले जसपा र राप्रपासँग तालमेल गरेर चुनाव लड्ने पनि तयारी गरेको छ ।

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचनमा कांग्रेससँग मिलेर अरुलाई रित्तै बनाउने एमालेको अर्को रणनीति, होला त सफल ?

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा ‘हात खाली’ हुने संकेत देखिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अनेक रणनीति बुन्न थालेको छ ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तागठबन्धन एक हुँदा एक सिट जित्न पनि कठिन रहेको एमाले पछिल्ला दिनमा अनेक रणनीति बनाइरहेको छ । जसरी पनि सत्तागठबन्धनमा फाटो ल्याउने एकसुत्रीय रणनीतिमा अघि बढेको एमालेले जसपा र राप्रपासँग तालमेल गरेर चुनाव लड्ने पनि तयारी गरेको छ ।

सत्तागठबन्धनसँग असन्तुष्ट जसपालाई आफूतिर तान्न अनेक कसरत गरिरहेको एमालेले फेरि अर्को तुरुप फालेको छ । एमालेको कांग्रेससँग मिल्न सकिने आशसहित अर्को तुरुप फालेको हो ।

एमालेले रिक्त हुने २० सिटमा १३ सिट कांग्रेसलाई दिने र आफूले ७ वटा सिट राख्ने प्रस्ताव राखेको बुझिएको छ । यसरी कांग्रेससँग मिलेर अरुलाई रित्तै बनाउने एमालेको प्रस्तावपछि गठबन्धनमा तरंग आएको छ ।

एमाले र कांग्रेस मिल्दा राष्ट्रियसभाका अरू दलको सम्भावना हुँदैन ।

राष्ट्रिय सभाबाट एमालेका अध्यक्षसहित ९ सांसदको पदावधि माघ २० देखि सकिँदै छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिना (गण्डकी), इन्दु कडरिया (सुदूरपश्चिम), कुमार दसौदी (लुम्बिनी), दीपा गुरुङ (गण्डकी), दिलकुमारी रावल थापा पार्वती (वाग्मती), नरपति लुवार (कर्णाली), भैरवसुन्दर श्रेष्ठ (कर्णाली) र रामचन्द्र राई (वाग्मती) ले बिदा लिँदै छन् ।

राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल तथा गठबन्धनको समर्थनबाट निर्वाचिन स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि राष्ट्रिय सभाबाट बाहिरिँदै छन् । यस्तै, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जसपाका १ सांसदको पदावधि सकिँदै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved