आफ्नै नामको स्पष्टीकरण !

हुन त आफ्नै नामको चर्चा गर्नुपर्ने त्यस्तो खास कारण छैन । र, गरिहाल्ने उचित समय पनि भएजस्तो लाग्दैन । अझ यसो भनौँ— चर्चा गर्ने तहमा समाज-देशलाई योगदान पुर्‍याएको व्यक्ति पनि परिएन ।

आफ्नै नामको स्पष्टीकरण !

हुन त आफ्नै नामको चर्चा गर्नुपर्ने त्यस्तो खास कारण छैन । र, गरिहाल्ने उचित समय पनि भएजस्तो लाग्दैन । अझ यसो भनौँ— चर्चा गर्ने तहमा समाज-देशलाई योगदान पुर्‍याएको व्यक्ति पनि परिएन ।

नामको चर्चा गर्नैपरे कुनै दिन समाज-देशका लागि योग्य व्यक्ति भई योगदान पुर्‍याएर मात्रै गरौँ भन्ने नलागेको पनि होइन । तर, मेरो नाममाथि आइरहेको आम उत्सुकता मेटाउनैका लागि भएपनि यो लेख लेख्ने कोसिस गरेको छु ।

नाम सिर्फ नाम मात्रै हुँदैनन् पक्कै । नामकै कारण विभेद भोग्नुपरेका कतिपय मान्छेहरू हाम्रै समाजमा छन् । झनै नेपाली समाजमा यो कुरा नौलो पटक्कै होइन/रहेन ।

अस्ति भर्खरको मात्र घटना हो; धेरैलाई अवगत हुनुपर्छ । दैलेखका ‘कुकुर कामी’ ले कविराम नामको नागरिकता पाए । कविराम नामको नागरिकता पाउनुअघि उनले खतरनाक सामाजिक बहिष्करण खेप्नुपर्‍यो । उनका छोराछोरीहरूले पनि बाबुको नामकै कारण दु:ख पाए ।

म किन यो प्रसङ्ग जोड्दैछु भने इनुमा (इनुमा राई, जसले ‘फगत एउटा नाम होइन’ शीर्षकमा अनलाइनखबरमा एक लेख लेख्नुभएको छ ।) नानाले भन्नु भएजस्तै कतिपय नाम फगत नाम मात्रै नहुँदो रहेछ । यसले समाजमा बाँच्ने आधार दिने रहेछ, इज्जत दिन्छ । त्योभन्दा ठूलो त पहिचान दिने रहेछ ।

नामकै विषयमा चर्चा गर्दैगर्दा इनुमा नानाको लेखसँग म निकै नजिक पुग्छु । जसले समाजमा भोगेका भनौँ या अनुभव गरेका कतिपय कुराहरू मिल्दोजुल्दो हुन्छन् । कहीँ-कतै परिचय साटासाटको क्रममा पुगियो भने मेरो नाम ‘माओदीप’को अर्थ नसोध्ने कमै होलान्, कतिपय अवस्थामा रमाइलो पारामा सोध्नुहुन्थ्यो त कतिपयले जिज्ञासु भावले सोध्नुहुन्थ्यो । अनि कतिपय अवस्थामा भने हेयको भावले पनि नामको अर्थ सोधिएको तीतो अनुभव मसँगै सङ्ग्रहित छ ।

नामको विषयमा आउनुभन्दा अघि यहाँहरूलाई म विगत २ दशकअघि लान चाहन्छु, भर्खर स्कूले जीवन सुरू भएको थियो । उबेला गाउँकै एकजना जो साइनोले मामा पर्नुहुन्छ, उहाँले कान्छा भान्जा नाम के हो ? भनेर सोध्नुभएको थियो । त्यसबेला मैले मेरो नाम सुशील, कोठे, कान्छा राईलगायत भनेको अहिलेजस्तो लाग्छ । त्यसबेला बच्चाको स्वभाव हेरेर नाम राख्ने चलन थियो भने देश-विदेशका कुरा जानेको, बुझेकाहरूले सफल व्यक्तिहरूको नामबाट समेत नाम राखिदिने प्रचलन थियो । म पनि सुशील अनि शान्त थिएँ रे ! त्यही भएर मेरो घर-परिवारका खै कसले हो, सुशील राखिदिनुभएको रे !

यकिनका साथ याद भएन र निकै लामो समयसम्म निनी (फुपू) ले सुशील नै भनेर बोलाउनुभएको याद छ । तर, पछि सुशील नाम परिवर्तन हुँदै आएर सञ्जीव भएँ । तर, यसको अर्थ के थियो थाहा भएन । पछिसम्म स्कूलमा सञ्जीव नै लेखियो/लेखाइयो ।

सम्भवत: धेरैले याद गर्नुभएको छैन, मेरो देब्रे गालाको ठ्याक्कै ओठमाथि एउटा ठूलो कालो कोठी छ । जुन उमेर बढेसँगै विस्तारै मुखतिर झरिरहेको छ । हुनसक्छ— शारीरिक बनावटका कारणले । यही कोठी भएकै कारणले मलाई कतिपयले ‘कोठे’ पनि भन्छन् ।

सुशील, कोठे, कान्छा राई, सञ्जीव हुँदै माओदीपमा अल्झिएको छु म अहिले । माओदीपको चर्चा गर्नुभन्दा अगाडि मैले मेरो जेठा मामा अबिकुमार राईलाई सम्झिनुपर्छ । सायद उहाँ नहुनुहुँदो हो त न मेरो नाम माओवादी हुन्थ्यो, न मैले यो लेख नै लेख्थेँ ।

मेरो पढाइ-उमेर हुँदै थियो । मामाले सोलुखुम्बुको तत्कालीन नेचा गाविस, हालको नेचासल्यान गाउँपालिकाअन्तर्गतको एक विद्यालयमा अध्ययन गर्नुहुन्थ्यो । विद्यालीय ज्ञान मात्रै होइन, अहिले सम्झिँदा उहाँसँग बाहिरी ज्ञान पनि खुबै थियो । किनकि मेरो मामा माओत्से तुङको निकै ठूलो ‘फ्यान’ हुनुहुन्थ्यो । त्यसैले उहाँ उनकै जीवनीबाट निकै प्रभावित हुनुभएको थियो ।

म जन्मिएको थाहा पाएपछि उहाँ मेरो घर आएर मेरो मुखमाथि कोठी देखेर मेरो नाम ‘माओ’ राख्नुभएको थियो रे ! त्यसैले पनि सुशील, कोठे, कान्छा राईबाट सञ्जीव हुनुभन्दा अगावै मामाले मलाई ‘माओ’ बनाइसक्नुभएको थियो । तर, माओ नै चाहिँ किन राखियो भन्ने उत्सुकता यहाँहरूलाई लाग्नसक्छ । यो सन्दर्भ पनि फेरि चीनको राष्ट्रपति ‘माओत्से तुङ’सँगै जोडिन्छ । यहाँहरूले याद गर्नुभएको छ या छैन, माओत्से तुङको दाहिनेपट्टिको ओठको ठिक मुनि चिउँडोमा कालो कोठी छ । संयोगले उनै माओत्से तुङको कोठीसँग मेरो कोठी पनि मिल्छ । तर, विपरीत दिशामा छ । उनको दाहिनेपट्टि छ मेरो देब्रेपट्टि । जे होस्, मेरो नाम माओदीप हुनुको पछाडिको कारण यही हो ।

अलिक ठूलो भएपछि मावली जाने-आउने क्रम चल्न थाल्यो । उबेला मेरो मामा खोटाङको तत्कालीन जलेश्वरी गाविस वर्तमान ऐंसेलुखर्क गाउँपालिकामा पर्ने जनकल्याण प्राथमिक विद्यालयको स्कूल प्रमुख हुनुहुन्थ्यो । उहाँले माओत्से तुङको जीवनी खुबै सुनाउनुहुन्थ्यो । माओ यस्ता थिए , उस्ता थिए भनेर मामाले सबै सुनाउनुहुन्थ्यो । यत्तिसम्म कि, मेरो कलिलो दिमागमा माओको चित्र निकै गजबको कोरिएको थियो ।

जतिपटकको भेटमा भएपनि मामाले माओको कुरा झिकिहाल्नुहुन्थ्यो । अहिले पनि मामासँग कुरा भयो भने माओको प्रसङ्ग जसरी पनि निस्कन्छ । एउटा मध्यम वर्गीय परिवारमा जन्मेका माओले गरेका ती वर्ग सङ्घर्षका कुरासँगै उनका अनेकन् सङ्घर्षदेखि चीनको राष्ट्रपति भएकोसम्म वृत्तान्त सुनाउनुहुन्छ मामा । सुरू-सुरूमा सुन्न त्यति चाख नलागेपनि पछि विस्तारै मामाले नै सधैँ-सधैँ सुनाएर बानी नै पार्नुभयो । यसपछि वास्तवमा को हुन् माओत्से तुङ भन्ने एउटा कौतुहलता मनभरि भयो र खोजी गर्न थालियो । उनीबारे लेखिएको लेखहरू इन्टरनेटमा खोजी-खोजी पढ्न थालियो र थोरबहुमत जानकारी राख्न थालियो ।

यसपछि क्रमश: माओत्से तुङप्रतिको सम्मान बढ्न थाल्यो । संयोगवश कोठीसँग मात्र जोडिएको नाम त्यसपछि विचारमा पनि जोडियो । तिनका सङ्घर्ष मन पर्न थाल्यो । वास्तवमै माओ एक चिनियाँ क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता मात्र थिएनन्, उनी वर्तमान चीनको आर्थिक तथा सांस्कृतिक विकासका अवधारणाका प्रणेता पनि थिए । सामन्तवाद, साम्राज्यवाद, किसान मजदुरमाथिको शोषन, थिचोमिचो, मजदुरमाथिको शोषन; यी सबै-सबैप्रति उनले दह्रो प्रतिवाद गर्थे ।

उनका यी एक-एक कामहरू मन पर्न थाल्यो । यसैले पनि माओका विचारहरू एकदमै मन पर्न थाल्यो । यसकारण पनि आफैँलाई आफ्नो नाम खुबै मन पर्न थाल्यो । र, पर्छ पनि । जुन नाम संयोगले विश्वको प्रभावशाली र शक्तिशाली व्यक्तिसँग मिल्न गयो ।

हुन त मेरो नाम सुन्नेबित्तिकै माओवादी हो कि क्या हो ? भनेर सकारात्मक तथा नकारात्मक तरिकाले कतिपयले प्रश्न गर्छन् । यसैले त मैले आफ्नै नामबारे प्रष्ट पार्दै हिँड्नुपरेको छ । विचारका हिसाबले भन्ने हो भने माओत्से तुङकै विचारकै कारण म राजनैतिकरूपमा माओवादीसँग नजिक छु । जुन पार्टीले माओवादलाई आफ्नो सिद्धान्त बनाएको छ । माओवादी पार्टीले १० वर्षे जनयुद्धपछि पनि सोचेजस्तो उपलब्धि हासिल गर्न नसक्नु एउटा कुरा हो । तर, फेरि पनि तत्कालीन विद्रोह साँच्चै जनपक्षीय थियो नै । वर्षौँदेखि जड गाडेर बसेको राजतन्त्रको विधिवत् अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनालगायतका यी काम उपलब्धि नै हुन् ।

खैर समग्रतमा मेरो नामको पृष्ठभूमि रोचक छ । अहिले मामाले राख्नुभएको माओ र दिदीहरूले थपिदिनुभएको दीप (जसको अर्थ बत्ती, प्रकाश, किरण) जोडेर माओदीप लेख्न थालेको हुँ । यसकारण पनि आफ्नै नाम अर्थपूर्ण लाग्छ । आजभोलि साथीभाइ तथा आफन्तहरू जिस्किएर या उच्चारणमा अफ्ठेरो लागेर; कसैले माओवादी भन्नुहुन्छ त कसैले मालदीप । कसैले महादीप, मन्दीप, मादीप, माबोदीप, माउदीप, माहोदीप भनेर बोलाउनुहुन्छ । तर, मान्छे माओदीप नै हो । यसैकारण पनि आफूलाई माओ वा माओदीप नै भनेर बोलाउनुमा प्रफुल्ल ठान्छु, मन पराउँछु ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved