काठमाडौं । सर्वप्रथम नाटक ‘ब्युँझिएको सिरानी’ ‘नृत्यमार्फत मनोरञ्जन दिन मात्रै होइन, ठूला र गहिरा कथाहरू भन्न पनि सकिन्छ’ भन्ने कुराको प्रमाण हो ।
त्यसो त निर्देशक जेडी तमू पारङ्गत नृत्यकार हुन् । हुनसक्छ— उनले आफूसँग भएको नृत्य-कलालाई नाटकमै मिसाइदिए । नाटकमा कम संवाद, बढी नृत्य देखिन्छ । नाटकका प्राय: महत्त्वपूर्ण कथाहरू नृत्यकै माध्यमबाट अगाडि बढ्छन् ।
नाटकको रोचक पक्षचाहिँ के भने नाटकको कथा पनि नाटक नै छ । व्यावसायिक बन्न नसकेको रङ्गकर्मका कारण एउटा रङ्गकर्मीले कस्तोसम्म दु:ख भोग्नुपर्छ भन्ने प्रश्नको जवाफ दिन नाटक उद्यत छ ।
नाटकमा एक श्रीमती मेग्मा (वेदना राई) र छोरी (छेजिङ तामाङ) भएका सोनाम (रूपेश लामा) रङ्गकर्मीका रूपमा देखिन्छन् । उनी निर्देशक छत्रमान (सुरज तमू) ले तयार पार्दै गरेको नाटकमा अनुबन्धित हुन्छन् । समय बित्दै जान्छ, प्रकारान्तरले उनी नाटकबाट निकालिन्छन् ।
सयौंपटक माफी मागेपनि ‘स्कृप्टबिनै काम गर्नसक्छु भन्ने अभिमानी निर्देशक’ले उनलाई माफी दिँदैनन् । नाटकलाई नै सर्वस्व मान्ने सोनाम त्यसपछि विछिप्त अवस्थामा पुग्छन् । उनको सपना बिग्रन्छ, विपना बिग्रन्छ । यसपछि मानसिकरूपमा कमजोर बन्दै जान्छन् । अन्तत: उनी ‘पालग’ नै बन्छन् ।
३ महिनासम्म नाटक-प्रशिक्षण लिएका सोनाम नाटकबाटै निकालिँदा उता घरबार भने भद्रगोल हुन्छ । श्रीमती मेग्माले सिलाम साक्मा बनाई त्यहाँबाट प्राप्त पैसाले जसोतसो घरखर्च धानिरहेकी हुन्छे । छोरीको पढाइ विद्यालयीय तहमै छ । उनको शुल्क तिर्नलाई हम्मे-हम्मे परिरहेकै बेलामा घरबेटी घरभाडाका लागि तारन्तार धाउँछन् । जुनबेला सोनाम मानसिकरूपमा निकै कमजोर बनिसकेका हुन्छन् । उनको अवस्था त्यहाँसम्म पुग्छ कि उनी घरी श्रीमती मेग्मासँग, घरी छोरी छेजिङसँग २० रुपैयाँका लागि हात फैलाउँछन् ।
जे होस् नाटकले हामी बाँचेकै समाजले हामीलाई कसरी पागलपनतिर डोर्याउँछ र त्यसको समाधान यही समाजमा कसरी भेटिन्छ ? भन्नेबारे नाटकीय विमर्श गरेको छ ।
नाटकले हाम्रो समाजले अझैसम्म मानसिक स्वास्थ्यलाई बुझ्न नसकेको तथ्य निर्ममताका साथ उधिनेको छ । मानसिक स्वास्थ्यजस्तो गम्भीर मामिलामा समेत हामी अझै धामी/झाँक्रीकै भर पर्छौँ भन्ने यथार्थ देखाउँदै नाटकले अन्तत: चिकित्सकीय ओखतीमुलो र पारिवारिक प्रेमकै सहाराबाट त्यस्ता रोगीहरू निको हुन्छन् भन्ने कुरा सङ्गीत-नृत्यको संयोजनमार्फत देखाउँछ ।
साथमा नाटक यो शिक्षा दिन पनि भुल्दैन कि मानसिकरूपमा कमजोर बनेका मान्छेहरूका लागि पारिवारिक सहिष्णुता र श्रद्धा नै उत्तम औषधि हो । सोनामको हालत देखेर उनकी पत्नी मेग्मा घरी-घरी झनक्क रिसाउँछिन्, घरी गाली गर्छिन् त घरी श्रद्धापूर्वक सुम्सुमाउँछिन् । उनी जस्तोसुकै अवस्थामा पनि सोनामभन्दा पर जाँदिनन् । एउटा श्रीमतीको रूपमा श्रीमान्को त्यस्तो अवस्थामा देखाउनुपर्ने श्रद्धा देखाउँछिन् मेग्मा । सोनामको संवदेनशीलतालाई बुझिरहन्छिन् उनी, प्रेम गरिरहन्छिन् ।
सिलाम साक्मा बनाएर घरखर्च टार्दै आएकी मेग्माको सोनामसँग प्रेमिल गुनासो छ, “केही गर्न नसके पनि कमसेकम नआत्तिनू, म छेउमै छु त भन्न सक्थ्यौ नि !” लाग्छ— हामीले मानसिकरूपमा कमजोर बनेकाहरूलाई कहिल्यै यसरी प्रेम गरेनौँ र गर्न सक्दैनौँ ।
मुख्यत: पारिवारिक प्रेमकै कारण अन्तिममा सोनाम ठीक हुन्छन् र नाटक सुरू भयो भनेर भनिन्छ । यसर्थ सुखद अन्त्य छ नाटकको । सोनाम फेरि रङ्गमञ्चमै फर्किन्छन् । मानसिकरूपमा बिग्रिएका मान्छेहरूलाई हामीले कसरी ‘ट्रीट’ गर्ने भन्नेबारे नाटकले मज्जैले देखाएको छ ।
नाटकमा सङ्गीत-नृत्यको संयोजन त छँदैछ, त्यहीमाथि नाटक बडो विम्बात्मक छ । मञ्चको पृष्ठभूमिमा ठूलो आकारको अपूर्ण सिलाम साक्मा राखिएको छ । हुनसक्छ— त्यसले सोनामको जीवनको अपूर्णता देखाउँछ । नाटकमा देखाइएको सिलाम साक्माले खासगरी लिम्बू-राई समुदायसँग जोडिन्छ । तर, नाटकका कथाहरू भने ती समुदायतिर सोझिएका जस्तो खासै देखिँदैनन् । यसमा निर्देशकको आफ्नै निर्देशकीय अर्थ्याइँ होला । कहीँ-कतै नृत्यलाई बढवा दिइएजस्तो देखिन्छ । खैर समग्रमा नाटक राम्रो छ भन्न सकिन्छ ।
जे होस्, ब्युँझिएको सिरानीले मुख्यगरी दुई कुराहरू मज्जैसँग बताएको छ । पहिलो— अव्यावसायिक रङ्गकर्मले एउटा रङ्गकर्मीलाई दिने दु:ख र पारिवारिक प्रेमको महत्त्व । यसबारे जान्न नाटक ब्युँझिएको सिरानी हेर्नुपर्छ । तर, अहिले नाटक सकिसकेको छ । गत बुधबार नाटकको अन्तिम शो थियो, जुन मैले हेरेँ । मण्डला नाटकघरमा लामै समय चलेर शिल्पी पुगेर पनि लम्बिएको नाटक पुन: चल्दैन भन्न सकिन्न ।
Facebook Comment
Comment