काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेस प्रदेशलाई पराजित गरेको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा बागमतीले मधेसलाई २८ रनले पराजित गरेको हो।
११८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको मधेसले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा मात्र ८९ रन बनायो। मधेसका लागि पूजा महत्तोले ३५ र अनुराधा चौधरीले २१ रन बनाए। बागमतीको लागि अस्मिना कर्मचार्यले २ र मनिशा उपाध्यायले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा ११७ रन बनाएको हो। बागमतीको लागि यशोदा विष्टले अविजित ४७ रन र अश्मिना कर्मचार्य ३० रनमा अविजित रहिन्। यशोदा र अश्मिनाले पाँचौ विकेटका लागि ५० रनको साझेदारी गरे। मधेशका लागि भने पूजा महत्तोले २ र कविता गौतमले १ विकेट लिए।
यस्तै, मुलपानी क्रिकेट मैदानमा भएको खेलमा भने एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्यो। ८८ रनको लक्ष्य एपीएफले १६.१ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो।
एपीएफका लागि ज्योति पान्डे ४९ रनमा अविजित रहँदा इन्दु बर्माले भने अविजित ३१ रन बनाइन्। सुदूरपश्चिमको लागि इश्वरी विष्टले १ विकेट लिइन्।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ८७ रन बनायो। सूदूरपश्चिमका लागि कविता जोशीले २२ र सम्झना खड्काले १२ रन बनाए। एपीएफका लागि सोनु खड्काले २ तथा इन्दु बर्मा, करुणा भण्डारी र सुमन विस्टले १–१ विकेट लिए।
Facebook Comment
Comment