काठमाडौं । रुकुम पश्चिमको आठबीसकोटमा भएको ट्रयाक्टर दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् ।
पिरिकोटबाट घर्तीगाउँ जाँदै गरेको भूकम्पपीडितको जस्ता पाता बोकेको रा १ त १४ नम्बरको ट्र्याक्टर घुम्तीमा मोड्न खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
गएराति १० बजेतिर भएको दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी ४२ वर्षीया श्रीमती लुकी शाहीको मृत्यु भएको हो । सोही वडाका ५२ वर्षीय भर्दर सार्की तथा सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको हो ।
१४ वर्षीय दलबहादुर पुन, ३४ वर्षीया रमा गुरुङ, ३६ वर्षीय जयबहादुर घर्ती, ४१ वर्षीय खडकबहादुर पुन, ४२ वर्षीय मदन पुन, ५१ वर्षीय जगवीर सार्की, ५६ वर्षीय कुमार घर्ती र ५८ वर्षीय मने सार्कीको उपचार भइरहेको छ ।
दुर्घटनापछि चालक २१ वर्षीय गोपाल विक फरार छन् । प्रहरीले उनको खोजी गरिहेको छ ।
Facebook Comment
Comment