बाबुरामको ‘ब्रह्मास्त्र’ले कम्युनिष्ट समूहमा ल्याएको तरङ्ग

जीवनभरि आफैँ कम्युनिष्ट रहेका, कम्युनिष्ट पार्टीबाटै देशको अर्थमन्त्री तथा प्रधानमन्त्री भएका एक बौद्धिक व्यक्तित्वबाट कम्युनिष्ट विचारप्रति यति कठोर अभिव्यक्तिको अपेक्षा सायदै कसैले गरेका थिए । भट्टराईको यस्तो अभिव्यक्तिले कम्युनिष्ट समूहहरूलाई ‘ब्रह्मास्त्र’ प्रहार भएझैँ मर्माहत बनाएको छ ।

बाबुरामको ‘ब्रह्मास्त्र’ले कम्युनिष्ट समूहमा ल्याएको तरङ्ग

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले एक अन्तर्वार्तामा ठोकुवा गर्दिएका छन्— लेखेर राख्नुहोला, अब कम्युनिष्ट प्रणाली भन्ने नै रहँदैन ।

उनको यो भनाइले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ठूलो चर्चा पाएको छ । एक प्रकारको तरङ्ग नै सिर्जना भएको छ । जीवनभरि आफैँ कम्युनिष्ट रहेका, कम्युनिष्ट पार्टीबाटै देशको अर्थमन्त्री तथा प्रधानमन्त्री भएका एक बौद्धिक व्यक्तित्वबाट कम्युनिष्ट विचारप्रति यति कठोर अभिव्यक्तिको अपेक्षा सायदै कसैले गरेका थिए । भट्टराईको यस्तो अभिव्यक्तिले कम्युनिष्ट समूहहरूलाई ‘ब्रह्मास्त्र’ प्रहार भएझैँ मर्माहत बनाएको छ ।

डा. भट्टराईले यस्तो अभिव्यक्ति दिएको यो पहिलोपटक भने हैन । उनले कम्युनिष्ट विचार र पार्टीले अबको युगलाई नेतृत्व गर्न नसक्ने भन्दै २०७२ साल असोज महिनामा माओवादी पार्टी परित्याग गरेका थिए । २०७३ को जेष्ठमा रंगशालामा हजारौंको भेला गरी ठूलो तामझामका साथ भिन्नै नयाँ शक्ति पार्टी नै बनाए । तर, नयाँ शक्ति पार्टीले जे-जस्तो विकास गर्ने अपेक्षा गरिएको थियो, त्यो भएन ।

पछिल्ला केही घटनाक्रमपछि धेरैको अनुमान थियो कि डा. भट्टराई आफ्नो मातृपार्टी माओवादीमै फर्किर्दैछन् । तर, उनको पछिल्लो अभिव्यक्तिले त्यस प्रक्रियामा समस्या देखिएको संकेत गर्दछ ।

माओवादी स्रोतकाअनुसार डा. भट्टराईको माग पूरा हुने सम्भावना कम छ । माओवादी नेकपाको पछाडि कोष्ठमा रहेको ‘माओवादी केन्द्र’ हटाएर ‘समाजवादी केन्द्र’ लेख्न तयार हुन सक्दछ । तर, ‘नेकपा’ छोडेर ‘नेसपा’ वा ‘समाजवादी एकता केन्द्र’ मा राजी हुने सम्भावना न्यून छ ।

उक्त अन्तर्वार्तामा डा. भट्टराईले त्यस्तो अवस्थामा पार्टी एकता नहुने प्रष्ट गरेका छन् । उनले भनेका छन्— नेकपा समाजवादी भन्ने छ, त्यो गलत कुरा हो । नेकपा भनेको टाउको हो, टाउको उही राखेर समाजवादी पुच्छर लगाएर बदलिन्छ ? गधाको टाउकोमा गाईको पुच्छर टाँसेर त्यो गाई हुन्छ ? हुँदैन । नेकपा भनेको कम्युनिष्ट पार्टीको सिद्धान्त, विचार बोक्ने हो, त्यसमा समाजवादको पुच्छर राखेर अर्थ हुँदैन ।

सबै कम्युनिष्ट समूहमाथि ‘ब्रह्मास्त्र’

डा. भट्टराईको उपरोक्त अभिव्यक्तिले माओवादी पार्टीसँगको सम्भावित एकतालाई मात्र प्रभावित गर्दैन, देशका सबै कम्युनिष्ट समूहमाथि गतिलो प्रहार गर्दछ । उनले अब सैद्धान्तिक, वैचारिकरूपमै कम्युनिष्ट नहुने र कम्युनिष्ट प्रणालीको कुनै अर्थ पनि नरहने प्रष्ट गरेका छन् ।

उनले भनेका छन्— व्यक्तिगतरूपमा रिस उठेर हैन, म दार्शनिक, वैचारिक ढंगले भनिरहेको छु । हिजो म कम्युनिष्ट नै थिएँ । हुन्छ भने गरौँ भनेर प्रयोग पनि गरियो । तर, पछि हेर्दै जाँदा प्रयोगमा पनि सही देखिएन, सैद्धान्तिक दृष्टिकोणले हेर्दा पनि ठीक छैन भन्ने निष्कर्षमा पुगेँ । साम्यवाद भनेको निजी सम्पतिको अन्त्य हो, त्यो कसरी सम्भव छ ?

डा. भट्टराईको मातृपार्टी माओवादीका अतिरिक्त एमाले पनि कम्युनिष्ट पार्टी नै हो । एकीकृत समाजवादी, नेमकिपा, नेकपा मसाल, माले, वैद्य, विप्लव, कट्टेल, किराती तथा आहुति समूह कम्युनिष्ट पार्टी नै हुन् । डा. भट्टराईको अभिव्यक्तिले यी सबै समूहका नेता कार्यकर्तामा एकप्रकारको चिटचिहाट पैदा गरिदिएको छ ।

स्वागत र विरोध 

भट्टराईको घोषणबाट गैरकम्युनिष्ट खेमा खुसी देखिन्छ । भट्टराईको अन्तर्वाता रिपोष्ट गर्दै जुगल भूर्तेलले ट्वीटरमा भनेका छन्, “गुमेको समय र हजार सपनाको माया लागे पनि यस्तो पढ्न पाउँदा मनमा सन्तोष लाग्दो रहेछ । अब डा. साबले संसारमा आइरहेको परिवर्तनलाई अलिक गहिरोसँग अध्ययन गरेर अग्रगमनको परिभाषामाथि पनि पुनर्विचार गर्नुपर्दछ । नत्र कतिपय गर्न नहुने कुरा गरिएछ वा भनिएछ भनेर फेरि अर्को पश्चाताप हुने छ।”

विरोध गर्नेका आफ्नै तर्क छन् । उनीहरू भन्छन्, “भट्टराईको दिव्यज्ञान कुनै नयाँ कुरा हैन । यो त कम्युनिष्ट विरोधीले मार्क्सवादको प्रारम्भदेखि नै भन्दै आएको कुरा हो । प्रथम कम्युनिष्ट अन्तर्राष्ट्रियकै पालादेखि यो बहस थियो । फेरि कम्युनिष्ट पार्टीले आजको भोली निजी सम्पतिको अन्त्य गर्ने भनेको पनि हैन । त्यो त लामो समयको, हजारौं वर्षको सन्दर्भमा गरिएको एक युग विभाजन हो । तात्कालिक कार्यक्रम हैन ।”

एमाले उहिल्यैदेखि ‘पोलिटिकल्ली कम्युनिष्ट’

भट्टराईको अभिव्यक्तिको तोड एमालेलाई पनि उत्तिकै पर्नुपर्ने हो । तर, यो दलका कार्यकर्ता खासै गम्भीर छैनन् । एमालेका एक केन्द्रीय सदस्य तथा सांसद भन्छन्— एमालेका लागि यो कुनै नयाँ बहस हैन । पाँचौ महाधिवेशनमै रघु पन्तले पार्टीको नाम फेर्ने र सामाजिक जनवादी पार्टी बनाउने प्रस्ताव ल्याएकै हुन् । मदन भण्डारीको जनताको बहुदलीय जनवाद शास्त्रीय साम्यवादी सिद्धान्तभन्दा बाहिर निस्केको युरो कम्युनिज्म र प्रजातान्त्रिक समाजवादसँग मिल्दोजुल्दो विचार हो भन्ने सबैलाई थाहा छ । एमाले नामले मात्र कम्युनिष्ट पार्टी हो, विचार र अभ्यासले सामाजिक जनवादी नै हो । नेपाली जनता र मतदाता कम्युनिष्ट शब्द मन पराउँछन् । त्यसैले नाम फेर्न गाह्रो भएको हो । कुनै दिन हामी सामाजिक जनवादी पार्टी बन्न सक्दछौँ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही वर्ष अघि नै एमाले वैचारिक, दार्शनिक तथा सैद्धान्तिक नभएर ‘राजनीतिक कम्युनिष्ट’ मात्र भएको प्रष्ट गरेका थिए । ती केन्द्रीय सदस्य थप्छन्, “कम्युनिष्ट अब हिजोको सोभियत संघ वा पूर्वी युरोपको मोडेलमा प्रासंगिक विचार रहेन । तर, कम्युनिष्ट आन्दोलनले लामो समय लगाएर जुन संगठन, सञ्जाल र जनमत बनायो, त्यसलाई चटक्कै छोडेर शून्यमा जाने कुरा पनि त भएन ।”

भट्टराई निकटस्थलाई नै अप्ठ्यारो 

माओवादीसँग पार्टी एकता गरि राजनीतिक करिअर सुनिश्चित गर्न चाहने नेसपाकै एउटा पङ्ति भने डा. भट्टराईको अभिव्यक्तिपछि निराश भएको छ । माओवादीको चुनावचिन्ह लिएर गत आम निर्वाचनमा चुनाव जितेका सांसद तथा प्रचण्ड सरकारमा मन्त्री रहेका महिन्द्रराय यादव छिटो पार्टी एकता हुनुपर्ने पक्षमा छन् ।

मंसिरको पहिलो साता नेसपाभित्र यो विवाद चर्केको थियो । तर, बैठक बसेर यो विवाद साम्य पारियो । माओवादीसँग डा. भट्टराईले पार्टी एकता नगरे पनि नेसपाको एउटा पङ्ति उपयुक्त बेलामा माओवादतिर जाने सम्भावना छ। माओवादीमा जान खुट्टा उचालेर बसेकाहरू अहिले बढो अप्ठ्यारोमा परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved