काठमाडौं । काठमाडौं जिल्ला अदालतले टोकन प्रणालीको सुरुवात गरेको छ । सोमबारबाट जिल्ला अदालत काठमाडौंले अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणालीको सुरुवात गरेको जनाएको हो ।
टोकन प्रणालीको सुरुवात गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको सुरुवात गरेको बताए । उनले काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्ने योजनाअनुसार आफूहरू अघि बढेको बताए ।
‘काठमाडौं जिल्ला अदालतलाई व्यवस्थित र सहजीकरण होस् भनेर, सेवा लिने दिने क्रममा भीड नहोस् भनेर काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली सुरु भएको छ’, उनले भने ‘काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ भन्ने कन्सेप्टमा हामी अघि बढेका छौँ । न्याय प्राप्तिका लागि काठमाडौं अदालत प्रवेश गर्दै गर्दा कम्तीमा सहज ढंगबाट न्याय प्राप्तिका लागि यो पहल गरिएको हो ।’
उनले प्रविधिमैत्री अदालत नबनेसम्म नागरिक र सेवाग्राहीले न्याय नपाउने भन्दै अबबाट उभिएर सेवा लिनुपर्ने असहजता नहुने बताए ।
Facebook Comment
Comment