मौलाउँदो सुन तस्करी र निष्प्रभावी जाँचबुझ आयोगहरू

पछिल्लो समय नराम्ररी मौलाएको छ- सुन तस्करी । तथ्यांकअनुसार प्रहरीले पछिल्लो पाँच महिनामा चारपटक गरी २९ किलो सुन बरामद गरेको छ ।

नेपालभ्युज

मौलाउँदो सुन तस्करी र निष्प्रभावी जाँचबुझ आयोगहरू

काठमाडौं । पछिल्लो समय नराम्ररी मौलाएको छ- सुन तस्करी । तथ्यांकअनुसार प्रहरीले पछिल्लो पाँच महिनामा चारपटक गरी २९ किलो सुन बरामद गरेको छ ।

बिहीबार १४ किलो सुनसहित गोरखा बारपाकका चन्द्र घले पक्राउ परे । दुबईबाट नेपाल आएका उनले सुनको ज्याकेट लगाएका थिए । उनले प्रहरीसँग तेस्रोपटक दुबईबाट सुन ल्याएको बयान दिएका छन् ।

शनिबार राति पनि फ्लाई दुबईको उही उडान (एफजेड ५७३) बाट ल्याइएको साढे ६ किलो अवैध सुन भन्सार जाँचपास भइसकेपछि बरामद भएको छ । बोकेर ल्याउने इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिनसहित दुई सुडानी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले न्युरोड र नागढुंगा नाकाबाट ५ दिनकै अवधिमा ९ किलो सुन नियन्त्रणमा लिएको छ । गत बिहीबार अपराध अनुसन्धान कार्यालयले काठमाडौंको नागढुंगा नाकाबाट २ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको थियो ।

गत मंगलबार न्युरोडबाट ७ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । न्युरोडमा पदमप्रसाद पाण्डेले सञ्चालन गरेको ओम पल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिबाट बिल–बीजकबिनाका सुनका गहना र टुक्राहरू नियन्त्रणमा लिइएको थियो ।

यसरी पछिल्लो समय सुन तस्करी मौलाइरहेको छ । र, प्रहरीले विभिन्न समयमा अवैध सुनसँगै तस्करलाई नियन्त्रणमा पनि लिइरहेको छ । सरकारले सुन तस्करी छानबिनका लागि पटक–पटक समिति पनि बनाउने गरेको छ । तर ती समिति निष्प्रभावी हुने गरेका छन् ।

निष्प्रभावी छानबिन समिति

बिहीबार बरामद भएको १४ किलो सुन तस्करीको छानबिनका लागि सरकारले भन्सार विभागका उपसचिव मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको छ । तर गत असार २९ गते विमानस्थलबाट बाहिरिएको ६१ किलो र भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करी अनुसन्धान गर्न बनाइएको छानबिन समिति नै निष्प्रभावी बनेको छ ।

एमालेले एक महिना संसद अवरुद्ध पारेपछि सुन तस्करी छानबिनका लागि बनाइएको समिति अहिले गुमनाम जस्तै छ । पूर्वप्रधानन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा बनेको उक्त उच्चस्तरीय समितिले के गरिरहेको छ ? पत्तो छैन । उक्त समितिको तीन महिने म्याद पुस १४ गते सकिँदै छ । तर, उसले एउटा कर्मकाण्डी प्रतिवेदन बुझाएर पन्छने अनुमान गर्न कठिन छैन ।

पछिल्लो १० वर्षमा तस्करी गरेर ल्याइएको ७ सय किलो सुन बरामद भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । सुन ओसारपसारमा संलग्न ५ सय ९९ जना पक्राउ परेका छन् । उक्त सुन ७ अर्बभन्दा बढी मूल्यको हो । सोही अवधिमा १ हजार १ सय २२ किलो अवैध चाँदीसमेत बरामद भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved