अर्थतन्त्र लयमा ल्याउन मौद्रिक नीतिको समीक्षाबाट सहयोग पुग्ने अपेक्षा छ : अध्यक्ष ढकाल

नेपालभ्युज

अर्थतन्त्र लयमा ल्याउन मौद्रिक नीतिको समीक्षाबाट सहयोग पुग्ने अपेक्षा छ : अध्यक्ष ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले केही हदसम्म लगानीकर्ताको मनोबल बढाउने र अर्थतन्त्र लयमा ल्याउन सहयोग पुग्ने बताएका छन् । सुदूरपश्चिम महोत्सव २०८० को उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका धेरै विषयहरु मौद्रिक नीतिको समीक्षामा समेटिएको र यसले लगानीकर्ता र निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने संकेत गरे।

“नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा बैंक दर, नीतिगत दर, कर्जाको पुनरसंरचना र घर तथा शेयर कर्जामा लचकता अपनाएको देखिन्छ । यी विषयहरु हामीले विगत लामो समयदेखि निरन्तर उठाउँदै आएका थियौँ । राष्ट्र बैंकले अहिले आएर यसको सुनुवाई गरेको देखिन्छ । यसले लगानीकर्ताको मनोबल बढाउन, लगानी प्रवद्र्धन गर्न सहयोग गर्नसक्छ,” उनले भने । अहिले राष्ट्र बैंकले ल्याएको उदार मौद्रिक नीति समयमै आउन सकेको भए हजारौँ साना तथा मझौला व्यवसाय र व्यवसायी विस्तापित हुन नपर्ने अध्यक्ष ढकालले बताए ।

“निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले विगत लामो समयदेखि पटकपटक नेपाल राष्ट्र बैंकलाई अर्थतन्त्रलाई लयमा ल्याउन मौद्रिक नीतिमा विशेष व्यवस्था गर्न आग्रह गरेका थियौं । अहिले आएर हाम्रा मागको सम्बोधन भएको छ ।” उनले भने “ढिलो गरी आएको सम्बोधनले अर्थतन्त्रलाई लयमा ल्याउन के कति सहयोग गर्छ । त्यो हेर्न बाँकी नै छ ।”

राज्यका निकायबिच समन्वयको अभावमा लगानीको वातावरण बन्न सकेन, अर्थतन्त्र लयमा ल्याउन सकिएन भनेर निजी क्षेत्रले आवाज उठाएको र त्यसलाई प्रधानमन्त्री आफैले सकारात्मकरुपमा लिई समन्वयकारी भूमिका निर्वाह गरेको यनले भनाइ राखे । निजी क्षेत्रले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन प्रधानमन्त्रीको भारत, चीन तथा यूएई भ्रमणका अवसरमा लगानी सम्मेलनहरुको आयोजना गरेको बताउँदै उनले यस सुदूरपश्चिम प्रदेशमा यही फागुन महिनामा आयोजना हुने लगानी तथा विकास सम्मेलनले यस क्षेत्रको विकास र सम्मृद्धिमा नयाँ खुड्किलो बन्ने बताए।

मुलुकको अर्थतन्त्रप्रति प्रधानमन्त्रीले देखाएको चासो र लिएको अग्रसरताको प्रसंशा गर्दै अध्यक्ष ढकालले सरकारी प्रकृयाको कारण धेरै आयोजना रोकिने गरेको र त्यसलाई छिटोछरितो गराउने व्यवस्था मिलाउन समेत आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved