गाजाको केही भाग कब्जा गर्ने इजरायलको योजना अस्वीकार्य : प्यालेस्टिनी राष्ट्रपति

नेपालभ्युज

गाजाको केही भाग कब्जा गर्ने इजरायलको योजना अस्वीकार्य : प्यालेस्टिनी राष्ट्रपति

एजेन्सी । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले ‘प्यालेस्टिनी राज्यको अभिन्न अङ्ग’ रहेको गाजा पट्टीको कुनै पनि भागलाई अलग गर्ने, कब्जा गर्ने, काट्ने वा अलगथलग पार्ने इजरायलको योजनालाई अस्वीकार गरेको बताएका छन् ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससँगको टेलिफोन वार्तामा अब्बासले भने, ‘गाजा पट्टीमा प्यालेस्टिनी जनतामाथि भइरहेको आक्रमण तत्काल रोक्न र इजरायलले गरेको बमबारी र विनाशको विपत्तिबाट सर्वसाधारणलाई जोगाउन आवश्यक छ ।

उनले तत्काल स्वास्थ्य तथा खाद्य सामग्री, खानेपानी, विद्युत्, इन्धनलगायत राहतको प्रवेश बढाउन र अस्पताल तथा आधारभूत सेवा सञ्चालन गर्न आवश्यक सहयोग उपलब्ध गराउन समेत आग्रह गरे ।

उनले ‘पश्चिमी किनारा, जेरुसेलम र जोर्डन उपत्यकाका इलाकाहरूमा आक्रमण, हत्या, घर भत्काउन र प्यालेस्टिनी बासिन्दाहरूलाई निष्कासन गर्न रोक्न अमेरिकी हस्तक्षेपको लागि आह्वान गरे । उनले भने, “इजरायलद्वारा मौन र योजनाबद्ध रूपमा प्यालेष्टिनी भूमि कब्जा भइरहेको छ ।”

फोन वार्तामा अब्बासले प्यालेस्टिनीले संयुक्त राष्ट्रसङ्घमा पूर्ण सदस्यता प्राप्त गरेपछि र अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको अधिवेशनबाट सुरु हुने अन्तर्राष्ट्रिय वैधता प्रस्तावका आधारमा दुई राष्ट्रबीचको समाधानको कार्यान्वयनका लागि काम गर्न आफू तयार रहेको पनि बताएका छन् । अक्टोबर ७ देखि इजरायलले गाजामा हमासविरुद्ध ठूलो मात्रामा सैन्य अभियान चलाइरहेको छ, जसमा १५ हजार ५०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

इजरायली अधिकारीहरूका अनुसार दक्षिणी इजरायलमा हमासले अचानक गरेको आक्रमणको प्रतिशोध स्वरुप यो अभियान सञ्चालन गरिएको हो, जसमा एक हजार २०० भन्दा बढी इजरायली नागरिकको ज्यान गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved