मुम्बई । भारतको महाराष्ट्र सरकारले नेपालको क्रिकेट विकासमा सहयोग गर्ने प्रतिबद्दता जनाएको छ।
महाराष्ट्र प्रदेशका उपमुख्यमंत्री देवेन्द्र फडणवीसले बिहीबार नेपालका पत्रकारसँगको अन्तरक्रियामा नेपालको क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि र दुई देशबीचको म्याच गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
मुम्बई भ्रमणमा आएको नेपालका पत्रकारको टोलीसँग उपमुख्यमंत्री फडणवीसले भारतीय र नेपाली क्रिकेट टोलीसँगको म्याच गराउने विषयमा मध्यस्थता समेत गर्ने बताए ।
‘नेपालको तर्फबाट औपचारिक रूपमा प्रस्ताव आएमा हाम्रो महाराष्ट्र सरकारले मध्यस्थता गरेर मुंबई क्रिकेट एकेडेमी मार्फत नेपालको लागि आवश्यक सहयोग गर्नेछौं’ उनले भने, ‘नेपाली क्रिकेटरहरुलाई मुम्बईमा प्रशिक्षण, व्यावसायिक रूपमा क्रिकेट खेल्ने अवसर, दुई पक्ष बीचको प्रतिस्पर्धा गराउन महारष्ट सरकारले मध्यस्थता गर्नेछ। नेपाली क्रिकेटलाई सहयोग गर्न चाहन्छौं ।’
उपमुख्यमंत्री कार्यालयमा नेपाली पत्रकारको १६ जना टोलीसँग अन्तर्क्रिया भएको थियो । स्वतन्त्र युवा प्रजातान्त्रिक संघको आयोजनामा १६ पत्रकार भारत भ्रमणमा छन् ।
अन्तरक्रियामा सो संस्थाका अध्यक्ष अरबिन्द महतोले महाराष्ट्र सरकारको सहयोगले नेपालको खेल क्षेत्रले थप फड्को मार्ने विश्वास व्यक्त गरे । उनले नेपालको विभिन्न क्षेत्रमा भारतले गर्दै आएको सहयोगको प्रसंशा गर्दै धन्यवाद व्यक्त गरे ।
उपमुख्यमंत्री देवेन्द्र फडणवीसले भारतमा रहेका नेपाली मजदुरको समस्या समाधानमा समेत पहल कदमी लिने बताए । नेपाल भारत सम्बन्ध थप उचाइमा लैजान आफूले सकेको कदम चाल्ने पनि उनले बताए ।
Facebook Comment
Comment