काठमाडौं । हमासले गएराति तीन वर्षीय जुम्ल्याहा सहित ११ जना इजरायली बन्धकलाई रिहा गरिदिएको छ ।
पहिलो चरणको युद्ध विरामको अन्तिम क्षणमा रिहा भएका ११ जनासहित अहिलेसम्म ५० जनाभन्दा बढी बन्धकहरु हमासको कब्जाबाट मुक्त भएको इजरायलले जनाएको छ ।
इजरायलले पनि बदलामा तीन प्यालेस्टेनी महिला सहित ३० बालबालिकालाई जेलमुक्त गरेको छ ।
चार दिनको युद्धविरामको म्याद सकिन केही घण्टा अघि मात्र इजरायल र हमासबीच थप दुई दिन युद्ध विरामको समय लम्ब्याउने सहमति भएको छ । कतारको मध्यस्थकर्तामा लम्बिएको समयमा अन्य बन्दीहरुलाई क्रमिकरुपमा रिहा गर्ने सहमति भएको बताइएको छ ।
बाँकी दुई दिनमा हमासले थप २० जना महिला र बालबालिकालाई रिहा गर्ने प्रतिबद्धता जनाएको अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले बताए ।
हमासले बन्धक बनाइएका भनिएका नेपाली नागरिक विपिन जोशी भने हालसम्म अज्ञात छन् ।
हमासले बन्धक बनाएकाहरुको सोमबारसम्म गरी चौथो पटकमा रिहाई गर्दा पनि विपिनको अवस्थाबारे भने कुनै तथ्य बाहिर आउन सकेको छैन । गाजास्थित अल–शिफा अस्पतालमा रहेको एउटा भिडियोमा नेपाली पनि रहेको सूचना सार्वजनिक भएको थियो ।
त्यसमा देखिएका व्यक्ति नेपाली नागरिक नै भएको इजरेली सेनाले दाबी गरे पनि नेपाली दुतावासले पुष्टि गर्न सकेन ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हमासले बन्धक बनाएकाहरुलाई छोड्नेक्रम अझै नसकिएकाले जोशी पनि रिहा हुन सक्ने बताइन् । जोशीलाई मुक्त गराउन इजराइलसँगै अन्य राष्ट्रहरुसँग पनि कूटनीतिक पहल जारी राखेको लम्सालले बताइन् ।
गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी भने सम्पर्कविहीन छन् ।

Facebook Comment
Comment