चिया खेती फस्टाउँदै, चार महिनामा करिब डेढ अर्बको चिया निर्यात

नेपालभ्युज

चिया खेती फस्टाउँदै, चार महिनामा करिब डेढ अर्बको चिया निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा नेपालमा उत्पादित करिब डेढ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा एक अर्ब ४९ करोड ४४ लाख ४७ हजार रुपैयाँको चिया निर्यात भएको हो ।

नेपाली चिया मुख्य रूपमा भारत निर्यात हुने गरेको छ । पछिल्लो समय समुद्र पारका मुलुकमा पनि नेपाली चिया लोकप्रिय बन्दै आएको छ । आन्तरिक बजारमा नेपाली चियाको खपत न्यून मात्रामा हुने गरेको छ ।

चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो चार महिनामा ५७ लाख ७५ हजार किलोभन्दा बढी चिया निर्यात भएको छ । नेपाली चिया जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, जापान, भारत, चीन, अमेरिका, बेलायतलगायतका देशमा निर्यात हुँदै आएको छ ।

तर,नेपाली चियाको मुख्य बजार भारत हो । समुद्र पारका मुलुकमा पनि पछिल्लो समय चिया निर्यात बढिरहेको चिया व्यवसायीहरूले बताएका छन् । इलामको फिक्कलका चिया व्यवसायी दिनेश अग्रवालका अनुसार विषादी प्रयोग नगरिएको अर्ग्यानिक चियाको माग समुद्रपारका मुलुकमा बढेको छ ।

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिब २७ हजार हेक्टरमा चिया खेती हुन्छ । त्यति क्षेत्रफलमा वार्षिक २३ हजार ७ सय ४५ मेट्रिक टन चिया उत्पादन हुन्छ । चिया खेतीमा १७ हजारभन्दा बढी किसान आबद्ध छन् ।

बोर्डका अनुसार नेपालमा वार्षिक करिब दुई करोड ८० लाख किलो चिया उत्पादन हुँदै आएको छ । उक्त परिमाणमध्ये शून्य दशमलव ५० प्रतिशत चिया मात्र आन्तरिक बजारमा खपत हुने गरेको तथ्यांक छ । नेपालमा उत्पादित चियामध्ये करिब ९९ प्रतिशत कोशी प्रदेशमा उत्पादन हुन्छ ।

कोशी प्रदेशका इलाम, झापा, पाँचथर, धनकुटालगायत जिल्लामा मुख्य रूपमा चिया खेती हुने गरेको छ । तर, पछिल्लो समय दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, लमजुङ, ललितपुरलगायत जिल्लामा चिया खेती विस्तार भएको पाइन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved