काठमाडौं । मंसिर १९ र २० मा सिन्धुपाल्चोकको बाह्रविसेमा हुने तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगितास्थल, बसोबासलगायतको व्यवस्थापनका लागि आयोजक जुटेको हो ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ र आयोजकको एक गरी ११ टोलीका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। आयोजक सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारीका अनुसार एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुदलगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीहरूले पनि प्रतिस्पर्धा गर्ने छन् ।
‘प्रतियोगितामा सहभागी हुन कुनै पनि खेलाडीले कुनै पनि शूल्क तिर्नुपर्दैन,’ अध्यक्ष भण्डारीले भने, ‘खेलाडीको खाना र बसोबासकोसमेत व्यवस्था आयोजकले मिलाएको छ ।’ उनले त्यसका लागि सबै तयारी भइसकेको र व्यवस्थापनको पाटोको काम तीव्र पारिएको बताए ।
प्रतियोगितामा ग्योरोगीतर्फ १२ सिनियर र चार जुनियर गरी १६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । ‘महिला तथा पुरुष एकल, पेयर र टिम पुम्सेमा प्रतिस्पर्धा हुनेछ ।’ अध्यक्ष भण्डारीले भने ।
यो प्रतियोगिता बाह्रबिसे नगरपालिकाको सहआयोजनामा हुन लागेको हो । नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले जिल्लामा तेक्वान्दो खेलले गति लिइरहकोे भन्दै तेक्वान्दो खेलबाट समृद्धिको खोजीका लागि प्रतियोगितालाई सहयोग गरेको बताए । ‘खेलकुदबाट पर्यटन प्रवर्द्धन हुने मात्रै नभई स्थानीयस्तरका नयाँ खेलाडीलाई प्रोत्साहन हुन्छ,’ उनले भने, ‘राष्ट्रियस्तरको खेलहरु आफ्नो ठाउँमा हुनु गर्वलायक हो ।’
प्रतियोगिताको टिम च्याम्पियनले ७० हजार नगद पुरस्कार पाउने छन् । यस्तै दोस्रो हुनेले ५० हजार र तेस्रो हुने टोलीले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट महिला र पुरुष खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने छ । आयोजक टोलीका स्वर्ण विजेता खेलाडीलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
सिन्धुपाल्चोकमा तेक्वान्दो खेल भण्डारीले भित्र्याएका हुन् । २०५४ सालमा बाह्रविसे डोजाङ स्थापना गरेर उनले जिल्लामा यो खेलको विस्तार गर्न सुरु गरेका थिए । पहिलो संस्करणको सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०६९ र दोस्रो संस्करणको २०७१ सालमा उनकै अगुवाइमा गरिएको थियो ।
Facebook Comment
Comment