एकदिवसीय विश्वकप क्रिकेट

शक्ति गौचन र ज्ञानेन्द्र मल्ल भन्छन्- भारतले उपाधि जित्ने सम्भावना बढी छ

गौचनले नेपालभ्युजलाई भने, ‘दुवै टोली फर्ममा देखिए पनि भारतको जित्ने सम्भावना निकै बलियो छ। क्रिकेट हो जे पनि हुन सक्छ। तर, यो पटकको उपाधि भने भारतले नै डिजर्भ गर्छ।’

नेपालभ्युज

शक्ति गौचन र ज्ञानेन्द्र मल्ल भन्छन्- भारतले उपाधि जित्ने सम्भावना बढी छ

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटको फाइनल सुरु हुन केही समय मात्र बाँकी छ। अहमदावादको नरेन्द्र मोदी स्टेडियममा भारत र अष्ट्रेलिया दिउँसो आमने सामने हुँदैछन्।

भारत तेस्रो उपाधि जित्ने योजनामा छ। यसअघि भारतले सन् १९८२ र सन् २०११ मा उपाधि जितेको थियो। अष्ट्रेलिया भने छैँटौँ विश्वकप उपाधि जित्ने लक्ष्यमा छ। अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७, र २०१५ मा जितेको थियो।

जारी विश्वकपमा भारत सबै ९ खेलमा जित हासिल गर्दै फाइनल पुगेको छ। यता अष्ट्रेलिया भने ९ मध्ये ७ खेलमा जितसहित फाइनल पुगेको छ।

उपाधि कसले जित्छ भन्ने कौतोहुलता सबैमा छ। नेपालमा पनि विश्वकप फाइनलको चर्चा धेरै नै छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनले दुवै टोली बलियो भएपनि भारत केही अघि रहेको बताए। गौचनले नेपालभ्युजलाई भने, ‘दुवै टोली फर्ममा देखिए पनि भारतको जित्ने सम्भावना निकै बलियो छ। क्रिकेट हो जे पनि हुन सक्छ। तर, यो पटकको उपाधि भने भारतले नै डिजर्भ गर्छ।’

भारतलाई गृह मैदान मात्र नभई आफ्नो लयले मद्दत गर्ने गौचनले बताए । ‘भारत एसिया कप देखि नै लयमा आइसकेको टोली हो। सम्पूर्ण रुपमा सन्तुलित छ। सुरुवातदेखि नै प्रदर्शनलाई हेर्दा पनि भारतले च्याम्पियन हुने लक्षण देखाएको छ।’ उनले भने ।

भारतको लयलाई गौचनले अष्ट्रेलियाको क्रिकेटको स्वर्ण यूगसँग पनि तुलना गरे। उनले भने,‘जसरी रिकी पोन्टिङको पालामा अष्ट्रेलियाले लगातार २ विश्वकप जितेको थियो। भारत अहिले त्यहि दिशामा अगाडि बढिरहेको छ। त्यहि मोमेन्टममा भारतीय टोली छ।’

भारतीय टोलीको बलियो पक्ष हेर्दै गौचनले भने, ‘तीव्र गतिको बलिङ, फिल्डिङ, ब्याटिङ, आदि हरेक पक्षमा भारतीय टोली हावी भएको देखिन्छ। जारी विश्वकपका खेललाई हेर्ने हो भने पनि भारतले सबै खेलमा फराकिलो अन्तरको जित नै निकालेको छ। सोही प्रदर्शनलाई मध्यनजर गर्दा भारतले विश्वकपको उपाधि क्लिनस्विप गरेर जित्ने सम्भावना छ।’

नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले यस विश्वकपमा तटस्थ रहेको बताए। मल्लले भने, ‘व्यक्तिगत रुपमा म दुवै टोलीको समर्थनमा छैन्। कुनै एक टोलीको पक्षमा हुने कुरा नै भएन । तथापि, प्रदर्शनहरुलाई मध्यनजर गर्दा भारतीय टोली नै उपाधिको बलियो दावेदारका रुपमा रहेको छ।’

यद्यपि, विभिन्न आकलनबीच फाइनल खेल रोमाञ्चक हुनेमा भने गौचन र मल्लको मत एउटै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved