काठमाडौं। तराई क्षेत्रमा ‘खुँखार डाँका’ भनेर चिनिएका शक्ति कपुर पासवान र अजय पासवानलाई प्रहरीले गोली प्रहार गरेको छ ।
महोत्तरीको सोनमा गाउँपालिका–५ मा प्रहरीको कारबाहीबाट दुवैजना घाइते भएका छन् ।
रौतहटबाट पक्राउ गरेर ल्याउने क्रममा रातको समयको फाइदा उठाएर भाग्न खोजेपछि उनीहरुविरुद्ध गोली चलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले बताए ।
सर्लाहीबाट ल्याएको गाडी फिर्ता गरेर हाम्रो गाडीमा चढाउन खोज्दा उनीहरू भागेपछि गोली चलाएका उनले बताए ।
प्रहरीले चलाएको ३ वटा गोली उनीहरूलाई लागेको छ । डाँकाहरूलाई नियन्त्रणमा लिँदा दुई जना प्रहरी घाइते भएको डिएसपी गिरीले जानकारी दिए ।
सर्लाही लालबन्दी नगरपालिका–२ घर भएका ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान तराई क्षेत्रमा ‘खुंखार डाँका’ भनेर चिनिन्छन् ।
दुवैको बायाँ खुट्टामा गोली लागेको छ । उनीहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार हुँदै छ ।
शक्ति कपुर र अजय पासवान कार्तिक २० मा महोत्तरीको जलेश्वर नगरपालिका–८ स्थित सानो रतवारामा भएको डकैतीमा संलग्न थिए ।
रौतहटको चन्द्रपुर नगरपालिका–५ मा कार्तिक २६ मा भएको लुटमा पनि उनीहरू संलग्न रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका एकजना अधिकृतले बताए । लक्ष्मीपूजा गर्दा राखेको नगद र सुन लुटपाट गरेको पीडित परिवारको आरोप छ ।
Facebook Comment
Comment