काठमाडौं। आजदेखि नेपाल संवत् ११४४ शुरू भएको छ । नेपाल संवत्, विक्रम संवत् ९३७ बाट शुरू भएको मानिन्छ ।
खास गरी नेवार समुदायले नेपाल सम्वत्लाई ‘न्हू दँया भिंतुना’ भनेर हर्षोल्लासका साथ मनाउँछन् ।
उनीहरूले नयाँ वर्षको शुभकामना आदान प्रदान गर्दै नेपाल सम्वत्लाई बृहत् रूपमा मनाउने गरेका छन् ।
नेपाल सम्वत्का प्रणेता शंखधर शाख्वाःलाई मानिन्छ । उनले सबै किसानको ऋण मिनाहा गरिदिएको खुसीयालीमा नेवार समुदायले ‘न्हू दँया भिंतुना’ विशेष रूपमा मनाउन थालेका हुन् ।
नेपाल संवत् ११२९ अर्थात् विक्रम संवत् २०६५ सालदेखि नेपाल सरकारले नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिएको हो ।
नेपाल संवत् देशको मौलिक तथा सांस्कृतिक चिनारी पनि हो । नेपाल संवत् र रञ्जना लिपीलाई राजा महेन्द्रले संयुक्त राष्ट्रसंघमा दर्ता गरेर राष्ट्रिय पहिचानको रूपमा अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रयास गरेका थिए ।
अहिले कतिपय पालिकाहरूले रञ्जना लिपीलाई कामकाजको लिपी समेत बनाएका छन्। आजकै साँझ नेवार समुदायहरू म्हःपूजा अर्थात् आत्मपूजा गर्दछन् ।
आत्मा सन्तुष्ट भए मात्रै सबै काममा सफलता मिल्ने विश्वासका साथ नेवारी समुदायहरूले साँझमा परिवारका सबै सदस्यहरू एकै स्थानमा भेला भएर आफूले आफैँलाई पूजा गर्ने गर्दछन् ।
नेवारी भाषामा म्ह: को अर्थ शरीर हो । (तस्वीरमा गोकर्णेश्वर युवा उपकार क्लबले नेपाल सम्वत्को अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रम)














Facebook Comment
Comment