काठमाडौं । नेपाल भ्रमणमा रहेकी विश्व बैंक प्रतिनिधि अन्ना विजर्डेको एक्स (ट्वीट) माथि प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कडा प्रतिक्रिया जनाएका छन् । उनले सोधेका छन्– स्वर्ग कसलाई मन पर्दैन, तर त्यो कहाँ पाइन्छ ?
अन्ना विजर्डे विश्व बैंककी अपरेसन म्यानेजिङ डाइरेक्टर हुन् । नेपाल भ्रमण क्रममा रहेकी उनले आफ्नो एक्समा भनेकी छन्, “नमस्ते नेपाल ! यहाँ मेरो पहिलो भ्रमणमा सबैको हितका लागि हरित, लचिलो र समावेशी नेपाल निर्माणमा मद्दत गर्न हामी कसरी मिलेर काम गर्न सक्छौं भनेर हेर्न तत्पर छु ।”
उनको उपरोक्त भनाइमाथि प्रतिक्रिया दिँदै डा. भट्टराईले भनेका छन्— नेपालको पूर्वअर्थमन्त्री र राजनीतिक अर्थशास्त्रको उत्सुक विद्यार्थीको हैसियतमा विश्व बैंकलाई मेरो विनम्र सल्लाह छ, नेपालजस्ता अल्पविकसित देशमा ‘एउटै आकार सबैमा फिट हुन्छ’ भन्ने प्रवचन दिन र लाद्न छोडिदिनुस् ।
डा. भट्टराईले अगाडि भनेका छन्— हरित, लचिलो र समावेशी स्वर्गजस्ता गजबका शब्द हुन् । स्वर्गसँग कसको असहमति हुन्छ ? तर, त्यसलाई कसरी प्राप्त गर्ने ? सबै धर्मका पुजारीले लामो समयदेखि स्वर्गको उपदेश दिँदै आएका छन् । तर, अहिलेसम्म कसैले देखेको, पुगेका छैनन् किन ?
उनले विश्व बैंकलाई सल्लाह दिँदै भनेका छन्— तसर्थ हामी सबै स्पष्ट, वस्तुगत र सहअनुभूतिपूर्ण बनौँ । आर्थिक विकासले वैश्विक, क्षेत्रीय, राष्ट्रिय र स्थानीय परिवेशको स्थान र कालअनुरूप विभिन्न ऐतिहासिक चरण पार गर्दछ । तसर्थ, आर्थिक नीतिहरू देशहरूको ठोस सन्दर्भअनुरूप डिजाइन गर्नुपर्दछ ।
डा. भट्टराईले आफूले ‘एलडिसी’ देशलाई ‘युडिसी’ भन्न रुचाउनेसमेत खुलासा गरेका छन् । उनको विचारमा यस्ता देशहरू अझै पूर्वऔद्योगिक जीवन निर्वाहमुखी कृषिको दल-दलमा फसेका छन् । यस्तो चरणमा उत्पादनका सबै साधनको निरपेक्ष र न्यून उत्पादकत्व हुन्छ । यसले व्यापकरूपमा श्रमको बाह्य आप्रवासन, भारी बाह्य निर्भरता, निरन्तर बढ्दो ऋणको पासो, अनियन्त्रित भ्रष्टाचार, चौतर्फी असमानता, विनाशकारी वातावरणीय ह्रास र सबै क्षेत्रमा विकृति र संकट निम्त्याउँछ ।
डा. भट्टराईले थपेका छन्, “तसर्थ, परम्परागत कृषिलाई रूपान्तरण नगरी, पर्याप्त औद्योगिक आधार निर्माण नगरी, प्रशिक्षित जनशक्तिलाई देशभित्रै नराखी, बाह्य शक्तिसँगको ऐतिहासिक बर्चश्वनिर्भरता सम्बन्धलाई नसच्याइकन यो धर्तीमा नयाँ स्वर्गको सपना देख्न सकिँदैन ।”
डा. भट्टराईले प्रतिक्रियामा नेपालको वैकल्पिक समाजवादी आन्दोलन र नेपाल समाजवादी पार्टी चार आयामिक विकास नीतिको समेत चर्चा गरेका छन । “त्यसैले हामीले नेपालका लागि वृद्धि, समता, दीगोपन र खुसीसहितको चार आयामिक विकास मोडेल प्रस्ताव गरेका छौँ,” उनले भनेका छन् ।
आर्थिक विकास नीतिमा विश्व बैंकले बनिबनाउ प्रारूप थोपर्नुभन्दा नेपालको विशिष्ठतामा बहस गर्न राजी हुनुपर्ने उनको आग्रह छ ।
Facebook Comment
Comment