प्रिन्सिपल सर्राफको दाहसंस्कार, हालसम्म १० जना पक्राउ

नेपालभ्युज

प्रिन्सिपल सर्राफको दाहसंस्कार, हालसम्म १० जना पक्राउ

जनकपुरधाम । गोली प्रहारबाट सोमवार हत्या भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मंगलबार हिन्दु परम्पराअनुसार दाह संस्कार गरिएको छ ।

पसहा खोलमा उनको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि एन प्यापसनका पदाधिकारीले संस्थाको झण्डा ओढाई सर्राफप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उनलाई श्रद्धाञ्जली अर्पण गर्न ठुलो संख्यामा शुभचिन्तकहरू कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित उनको निवासमा पुगेका थिए ।

कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह, नेकपा माओवादी केन्द्रका युवा नेता मुकेश साह, नेपाली कांग्रेसका युवा नेता लुकेश सिंह लगायत विभिन्न राजनीतिक दलका व्यक्ति नागरिक अगुवा, निजी तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिका, आफन्तजन, पत्रकार, सुरक्षाकर्मी लगायतले सर्राफको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उपमहानगरपालिका भित्रका शिक्षक तथा पेसागत विभिन्न सङ्घ–सङ्गठनहरूले घटनाको निन्दा गर्दै शोक मनाउने निर्णय गरेका छन् । यस्तै बारा उद्योग वाणिज्य संघले पनि एक विज्ञप्ति जारी गर्दै हत्याको विरोधमा आज बजार बन्द गरे ।

घटनामा संलग्न एक युवती सहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । सो घटनामा अन्य थप दुईजनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । हालसम्म दस जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्षमरुपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved