युद्ध भड्किरहँदा कहाँ छन् हमास नेता इस्माइल हानिया ?

अक्टोबर ७ को बिहान हमासले इजरायलमाथि आक्रमण गर्दा उनी आफ्नो कार्यालयमा बसेर टिभीमा ती दृष्य हेरिरहेका थिए । त्यसको भिडियोसमेत सार्वजनिक भएको थियो ।

नेपालभ्युज

युद्ध भड्किरहँदा कहाँ छन् हमास नेता इस्माइल हानिया ?

काठमाडौं । हमास-इजरायलबीच भीषण युद्ध भइरहेका बेला हमासका मुख्य नेता इस्माइल हानिया कहाँ होलान् भन्ने जिज्ञासा सबैलाई हुन्छ । तर, उनी अहिले प्यालेस्टाइन तथा गाजा क्षेत्रमा भने छैनन् । उनी अहिले कतारको राजधानी दोहामा बस्छन् ।

अक्टोबर ७ को बिहान हमासले इजरायलमाथि आक्रमण गर्दा उनी दोहाको आफ्नो कार्यालयमा बसेर टिभीमा ती दृष्य हेरिरहेका थिए । त्यसको भिडियोसमेत सार्वजनिक भएको थियो ।

हानियाको दोहा बसाइँबारे कतार सरकार भने मौन रहँदै आएको छ । उनी त्यहाँ के-कस्तो कानुनी हैसियतमा छन् वा कतार सरकारले उनलाई कस्तो मान्यता पा भीसा दिएको छ भन्ने प्रष्ट छैन । सञ्चारमाध्यमले भने उनलाई निर्वासित प्यालेस्टाइनी नेता भन्ने गरेका छन् ।

द इजरायल टाइम्सकाअनुसार हमास नेता हनिया दोहामा कतार सरकारले उपलब्ध गराएको भव्य आवासमा आफ्ना परिवारका केही सदस्यसहित सुरक्षित तथा विलासी जीवन बिताइरहेका छन् । इस्माइल हानियाका १३ सन्तानमध्ये केही इजिप्ट र टर्कीमा रहेको समेत द इजरायल टाइम्सको दाबी छ ।

हानियाका अन्य नातेदार भने गाजा क्षेत्रमै रहेको, उनका भाइ र भतिजीलगायत पछिल्लो युद्धमा हालसम्म १४ जनाको मृत्यु भइसकेको बताइन्छ । प्यालेस्टाइनको गाजा क्षेत्रमा उनको निक्कै ठूलो रियल स्टेट व्यवसाय रहेको र त्यसको सञ्चालन उनका छोरी-ज्वाँइले गर्ने गरेका छन् ।

अलजजीरा टेलिभिजनकाअनुसार गत शनिबार इरानी विदेशमन्त्री हुसैन अमिराबदोल्लाहिन हमास नेता इस्माइल हानियालाई भेट्न दोहा पुगेका थिए । दुई नेताबीच भेटघाट भएको भिडियोसमेत सार्वजनिक भएको थियो ।

हानिया सन् २००६ को निर्वाचनपछि प्यालेस्टाइन सरकारको प्रधानमन्त्री नियुक्त भएका थिए । तर, हमास-फतेह विवादपछि राष्ट्रपति महमुद अब्बासले उनलाई बर्खास्त गरेका थिए । प्रधानमन्त्रीबाट बर्खास्त भए पनि हमासले गाजा क्षेत्रको नियन्त्रण कायम राखेका छन् । गाजा सरकारको नेतृत्व उनैले गरिरहेका छन् ।

हानिया हमासको मूल नेता सन् २०१७ पछि भएका हुन् । यसअघि यस संगठनको अध्यक्ष खालिद मसाल थिए । करिब १२ वर्ष हमासको नेतृत्व गरेका मसालले राजीनामा दिएपछि हानिया मूल नेता चुनिएका थिए ।

युद्धको नेतृत्व भने यतिखेर हमासको सैन्य शाखा अल-कसाम ब्रिगेडका कमाण्डर मोहम्मद देइफले गरिरहेका छन् । हानिया दोहामा देखिने गरे पनि कमाण्डर देइफ कहाँ बस्छन् भन्ने अस्पष्ट छ ।

दोहामा बसेर हानियाले युद्धका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने र युद्ध क्षेत्रमा हातहतियार पठाउने कामको नेतृत्व गरिरहेका छन् । सञ्चारमाध्यमहरूकाअनुसार हानिया अहिले अहमुद अब्बासको प्यालेस्टानी सरकारसँग सम्झौता गरी युद्धलाई एकीकृत नेतृत्वमा ल्याउने र अरब क्षेत्रको समर्थन जुटाएर प्यालेस्टाइनलाई बलियो बनाउने योजनामा छन् ।

गत शनिबार हानियासँगको भेटपछि इरानी विदेशमन्त्री हुसैन अमिराबदोल्लाहीन लेबनानको राजधानी बेरुत पुगेका थिए ।

अमेरिकाको खेमामा रहेका भनिएका अरबी देश कतार, साउदी अरेबिया, यूएई, टर्की, इजिप्टलगायतले पनि युद्धमा इजरायली भूमिकाको विरोध गरिहेका छन् । मंगलबार गाजाको एक अस्पातालमा भएको आक्रमणपछि अमेरिका निकै अप्ठ्यारोमा परेको छ । तर. इजरायलले आक्रमणमा आफ्नो संलग्नता र जिम्मेवारी अस्वीकार गरेको छ ।

सन् १९६२ मा जन्मिएका हानिया अहिले ६१ वर्षका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved